Ad Image

मकवानपुरमा हुँदैछ मतदान, तीन निकायका सुरक्षाकर्मी परिचालन

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1733026711.jpg

मकवानपुर । हेटौँडा उपमहानगरपालिका–१२ को वडाध्यक्ष पदका लागि आइतबार मतदान जारी छ । मतदानका लागि खटिएका कर्मचारी मतदान स्थलमा शनिबार नै पुगेर उम्मेदवारका प्रतिनिधिलाई परिचयपत्र वितरणलगायत मतदानका लागि तयारी पूरा गरेका थिए ।

निर्वाचनका लागि प्रतिभा माध्यमिक विद्यालय सिक्रेनीमा पाँच मतदान केन्द्र र विष्णुज्योति आधारभूत विद्यालय भोर्लेमा चार वटा मतदान केन्द्र गरी नौ वटा मतदान स्थलमा मतदान भइरहेकाे छ ।

विष्णुज्योति आधारभूत विद्यालय भोर्लेको ‘घ’ मतदान केन्द्रका मतदान अधिकृत सरोजप्रसाद पौडेलले मतदान बिहानैदेखि सुरू भएकाे बताए । दुई मतदान स्थलमा प्रतिमतदान केन्द्र स्थानीय स्वयंसेवक एक जना र पाँच जना कर्मचारी गरी छ जनासहित ५४ जना खटिएका छन् ।

आठ हजार ५३ मतदाता रहेको वडा नं. १२ को सिक्रेनीस्थित प्रतिभा मावि मतदान स्थलमा महिला दुई हजार ३१५, पुरुष दुई हजार ११२ र अन्य एक जना गरी चार हजार ४२८ जना तथा विष्णुज्योति आधारभूत विद्यालय मतदान स्थलमा एक हजार ८५९ जना महिला, एक हजार ७६६ जना पुरुष गरी तीन हजार ६२५ जना मतदाता रहेका छन् ।

मतदानको दिन आज वडामा सार्वजनिक बिदा दिइएको छ । वडाध्यक्ष पदमा तीन स्वतन्त्रसहित नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका गरी १२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

निर्वाचन स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न व्यापक रूपमा सुरक्षाकर्मी शनिबारबाटै परिचालन गरिएको छ । निर्वाचनमा तिनै निकायका सुरक्षाकर्मी परिचालन भएका छन् ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले निर्वाचनलाई शान्तिपूर्ण र धाँधलीरहित बनाउन तिनै निकायका सुरक्षाकर्मी आवश्यक सङ्ख्यामा व्यवस्थापन र परिचालन गरिएको जानकारी दिए।