Ad Image

७ जना क्रियापुत्रीले मालुवातरा मतदान केन्द्र पुगेर गरे मतदान

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1733047009.jpg

जाजरकोट । नलगाड नगरपालिकाको ८ वडामा सात जना क्रियापुत्रीले मतदान गरेका छन् ।

आमाबुबाको मृत्युपछि शोकमा परेका उनीहरुले आफ्नो उम्मेदवारलाई विजयी बनाउन नलगाड नगरपालिका ८ गणेश प्राथमिक विद्यालय मालुवातरा मतदान केन्द्रमै पुगेर मताधिकारको प्रयोग गरेका हुन् ।

नलगाड नगरपालिका ८ लुपानाका बुवा हरिमान खत्रीको काजक्रियामा बसेका छोराहरु अते खत्री, गोम, खिमे, टीकाराम बालबहादुर खत्रीका पाँच भाइ आमाको काजक्रियामा बसेका मैदेका महेन्द्र सिंह, मुकुन्द सिंहसहित सात जना क्रियापुत्रीले मतदान गरेका हुन्।

एक भोटले पनि आफ्नो उमेदवारले हारे पछुतो लाग्ने भएकाले आमा बुवा गुमाएको पीडा भए पनि मतदान गर्न आएको आमाको काजक्रियामा बसेका महेन्द्र सिंहले बताए ।

यस्तै, बिहान ७ बजेदेखि मतदान सुरु हुने भनिए पनि वडा १ मा भने करिब दुई घण्टापछि मात्रै मतादान सुरु भएको हो । नलगाड नगरपालिकाको १ मा बिहान केही समयपछि मतदान प्रक्रिया सुरु भए पनि सबै ठाउँमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उपनिर्वाचनमा आफ्नो उमेदवारलाई विजय गराउन नेता, कार्यकर्ता तथा शुभचिन्तकले मतदातालाई बिहानैदेखि मतदानस्थलमा ओसारपसार गरिरहेका छन् । त्रिभुवन माध्यमिक विद्यालय दल्लीका क र ख केन्द्र, नलगाड नगरपालिका ८, गणेश प्राथमिक विद्यालय र मालुवातरा मतदान केन्द्रमा मतदानस्थल छ ।

मुख्य निर्वाचन कार्यालयका सहायक अधिकृत धर्मबहादुर बुढाका अनुसार बिहान चिसोका कारण मतदाता नआए पनि १० बजेबाट आउने क्रम जारी छ। मतदान प्रक्रियालाई धाँधलीरहित बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका तीनवटै सुरक्षा निकाय परिचालन गरिएको छ । साँझ पाँच बजेसम्म मतदाताले डर त्रास र भयरहित तरिकाले मतदान गर्न पाउनका लागि सुरक्षा व्यवस्था कडा पारिएको उनको भनाइ छ ।

जिल्ला निर्वाचन कार्यालयका निमित्त प्रमुख नवीनकुमार कठायतका अनुसार नलगाडन नगरपालिकामा दिउँसो २ बजेसम्म करिब ४५ प्रतिशत मत खसेको छ ।

नलगाड नगरपालिकाका उपप्रमुख सरिता सि‌हको गत वर्ष कात्तिक १७ गते भूकम्पम परी मृत्यु भएपछि रिक्त रहेको पदमा उपनिर्वाचन हुन थालेको छ ।