काठमाडौँका जनप्रतिनिधिसँग कर्मचारी पराजित, बालेनले हाने एक गोल


काठमाडौँ । काठमाडौं महानगरपालिकाको स्थापना दिवसका अवसरमा भएको मैत्रीपूर्ण फुटबल खेलमा जनप्रतिनिधिसँग कर्मचारी पराजित भएका छन् ।
महानगरका जनप्रतिनिधिको टिमले कर्मचारीको टिमलाई ५–२ गोल अन्तरले पराजित गरेको हो । ३० औँ महानगर दिवसको अवसरमा बिहीबार सैनिक मुख्यालय भद्रकालीको फुटबल मैदानमा भएको खेलमा जनप्रतिनिधिहरुको टिमले कर्मचारीहरुको टिमलाई पराजित गरेको हो ।
जनप्रतिनिधिको तर्फबाट मेयर बालेन्द्र शाह (बालेन)ले १, सन्तोष ढुङ्गेलले २, नविन भण्डारीले १ र विनय शाक्यले १ गोल गरे । कर्मचारीको तर्फबाट राजु पौडेलले २ गोल गरेका थिए ।
महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले रेफ्रीलाई फुटबल दिएर सुरु भएको खेलमा जनप्रतिनिधिहरुको नेतृत्व मेयर बालेनले र कर्मचारीहरुको नेतृत्व प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले गरेका थिए । उनीहरु दुवैले ६० मिनेटको पूरा अवधि खेले ।
महानगर दिवसका अवसरमा भोलि शुक्रबार विद्यालयका विद्यार्थीस्तरीय हाजिरी जवाफ प्रतियोगिता र शिक्षक स्तरीय कविता बाचन प्रतियोगिताका विजेतालाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिनेछ ।
मंसिर २९ गते शनिबार बिहान ८ बजेदेखि सैनिक मञ्च टुँडिखेलमा औपचारिक कार्यक्रम हुने महानगरले जनाएको छ । त्यस अवसरमा सबै वडाबाट सांस्कृतिक झाँकी प्रदर्शनको तयारी गरिएको छ ।





९ बजेदेखि टुँडिखेल मैदानमा स्थानीय मौलिक परिकार तथा पेय पदार्थहरुको स्टल, एक वडा एक नमूना कार्यक्रमअन्तर्गत उत्पादित सामान तथा वस्तुको प्रदर्शनी पनि राखिने महानगरले जनाएको छ । दिउँसो ३ बजेदेखि व्याण्ड तथा कलाकारहरुको सांगीतिक प्रस्तुति हुनेछ ।