Ad Image

कुश्मा नगरपालिकाले बनाउने भयो आफ्नै प्रशासकीय भवन

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1733999448.jpg

पर्वत । स्थानीय सरकार सञ्चालन भएको सात वर्ष बितिसक्दा कुश्मा नगरपालिकाले भने भर्खर प्रमुख प्रशासकीय भवन बनाउने तयारी थालेको छ ।

 

भाडामा सञ्चालनमा रहेको कुश्मा नगरपालिका अब भने आफ्नै भवनबाट सेवा दिने तयारीमा गएकाे छ। पालिकाका कतिपय वडाहरु सरकारी भवनमा सञ्चालन भए पनि पालिका आफैँ भने भाडामै सञ्चालनमा थियो ।

 

पालिकाले भाडा वापत महिनामा एक लाख रुपैयाँभन्दा बढी तिर्दै आएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार पालिकाको प्रमुख प्रशासकीय भवन तीन वर्षभित्र बनाउने गरी सम्झौता गरिएको छ ।

 

अधिकृत पौडेलका अनुसार न्यू ड्रयागन निर्माण सेवाले भवन साढे एक वर्षभित्र बनाइदिने आश्वासन दिएको छ । पालिकाको नयाँ प्रशासकीय भवन जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयको बीचमा बन्ने भएको छ ।

 

जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको तीन रोपनी ९ आना ३ पैसा ३ दाममा नयाँ प्रशासकीय भवन बन्न लागेको हो । भवन बनाउने जग्गा नभेटिएकाले पनि अहिलेसम्म पालिकाले आफ्नै प्रशासकीय भवन बनाउन नसकेको अधिकृत पौडेलले जानकारी दिए । 

 

नगरपालिकाको प्रशासकीय भवन बनाउन १७ करोडमा ठेक्का आव्हान गरेकोमा न्यू ड्रयागन निर्माण सेवाले लगभग १४ करोडमा बनाउनेगरी ठेक्का पाएको हो । पालिकाको प्रशासकीय भवन साँढे ६ तल्लाको बन्नेछ ।