Ad Image

मेचीनगर नगरपालिकामा 'अपाङ्गता पहिचान' १५ दिने अभियान सुरु

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1734410882.jpg

काठमाडौँ । झापाको मेचीनगर नगरपालिकाले अपाङ्गता भएकाहरूको पहिचान गरी परिचयपत्र वितरण गर्ने काम थालेको छ । नगरपालिकाले १५ दिन लामो  विशेष स्वास्थ्य शिविरसहितको अभियान थालेको हो ।

 

कोसी प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्कीले मेचीनगर–१ को बाहुनडाँगीमा सोमबार एक कार्यक्रमबीच अभियानको उद्घाटन गरे ।

 

उनले अपाङ्गता भएकाहरूको सुविधा र हितका लागि प्रदेश सरकारले स्थानीय पालिका र करुणा फाउन्डेसनसँग सहकार्यमा स्वास्थ्य शिविरसहित विविध कार्यक्रमार्फत अभियान सञ्चालन गरिरहेको बताए ।

 

मेचीनगर नगरपालिकाले आगामी १५ दिनभित्रमा नगरका १५ वटै वडामा शिविर सञ्चालन गरी अपाङ्गता भएकाहरूलाई परिचयपत्र वितरण गर्ने जनाएको छ । प्रत्येक वडामा विशेषज्ञ चिकित्सकसहित स्वास्थ्यकर्मी र कर्मचारीको टोली खटाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले जानकारी दिए ।

 

शारीरिक अशक्त भएका व्यक्तिलाई वडा तथा नगरपालिका धाउने झञ्झट नहोस् भनेर वडातहमा शिविरको आयोजना गरिएको भन्दै यसबाट लक्षितवर्ग लाभान्वित हुने नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले बताए ।

 

अपाङ्गता भएका व्यक्तिहरूको पहिचान र बृहत्तर हितका लागि विशेष कार्यक्रम सञ्चालन गर्न मेचीनगर नगरपालिका, कोसी प्रदेश सरकार र करुणा फाउन्डेसनबीच १ करोड ४२ लाख सहयोगको त्रिपक्षीय सम्झौता भएको छ ।