Ad Image

शिवसताक्षी नगरपालिका परम्परागत धान संरक्षणमा जुट्दै

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1734411861.jpg

काठमाडौँ । झापाको शिवसताक्षी नगरपालिका परम्परागत धानको बिउ संरक्षमा जुटेको छ । नगरपालिकाले ४ वटा  वडालाई लोपोन्मुख नुनिया धानको पकेट क्षेत्र घोषणा गरेको छ ।

 

अन्य धानभन्दा ढिलो र थोरै फल्ने भएकाले किसानले विगतमा खेती गर्न छाडेका कारण कालो नुनिया लोपोन्मुख अवस्थामा पुगेको हो । मिठो स्वाद र सुगन्धका कारण नुनिया धान महँगो मूल्यमा बजारमा बिक्री हुन्छ ।

 

शिवसताक्षी वडा नं ७ मा रहेको कञ्चन जैविक विविधता संरक्षण विकास समितिसँग सहकार्य गरेर नगरपालिकाले नुनिया लगायत परम्परागत धानको बीउ संरक्षण र खेतीका लागि अभियान सञ्चालन गर्दै आएको नगरउपप्रमुख नरमाया कार्कीले बताइन् ।

 

उनले वडा नं १, ४, ७ र १० लाई कालो नुनिया धानको पकेट क्षेत्र घोषणा गरिएको जनाउँदै नुनियाको खेती गर्ने किसानलाई धानखेती गरेको जमिनको मात्राका आधारमा आर्थिक अनुदानसमेत उपलब्ध गराउँदै आएको बताइन् ।

 

कालो नुनिया धानको भात मिठो हुने र प्रतिमन ४ हजारका दरले बिक्री हुने जैविक विविधता संरक्षण समितिका अध्यक्ष डिल्ली पौडेल बताउँछन् ।

 

पछिल्लो समय कालो नुनिया धानको माग अत्यधिक बढेको छ । समितिले यसपालि किसानलाई सात टन कालो नुनियाको बीउ बिक्री गरेको जनाएको छ । परम्परागत बाली संरक्षणका लागि शिवसताक्षीमा  २०६५ सालमा समितिको स्थापना भएको थियो ।

 

 त्यसको एक वर्षपछि शिवसताक्षी वडा नं ७ मा परम्परागत बालीको बीउ बैंक स्थापना गरिएको थियो । बीउ संरक्षणका लागि शिवसताक्षी नगरपालिकाले ५० प्रतिशत लागत व्यहोर्दै आएको छ ।

 

नगरपालिकाले कालो नुनिया धानमा प्रतिपाँच कठ्ठा रु पाँच सय अनुदान दिँदै आएको छ । विगत दुई वर्षमा अनुदानका लागि नौ सय कठ्ठाको निवेदन परेको शिवसताक्षी नगरपालिकाका कृषि शाखा प्रमुख रविन भट्टराईले बताए ।