किवीको 'जाम' र 'वाइन' बनाउँदै दुप्चेश्वर गाउँपालिका


नुवाकोट । दुप्चेश्वर गाउँपालिकाको प्राविधिक सहयोगमा स्थानीय किसानले किवीको जाम र वाइन् उत्पादन गरेर विक्री सुरु गरेको छ । किवीलाई प्रशोधन गरेर जाम र वाइन् बनाएर विक्री गर्दा दोब्बर नै मुनाफा हुने भएपछि पालिकाले किसानलाई तालिम र प्राविधिक सहयोग गरेको हो ।
पालिकाले ‘पोस्ट हार्भेस्ट मूल्य शृङ्खला अभिवृद्धि कार्यक्रम’मार्फत वडा नं. २ कडेनीका किवी प्रशोधन गरेर जाम र वाइन बनाउन थालिएको हो । बजारमा फलभन्दा जाम उत्पादन गरेर बिक्री गर्दा किसानलाई दोब्बर बढी आम्दानी हुने गरेको पालिकाले जनाएको छ । किवीको बिक्रीबाट किसानले प्रतिकेजी २५० रुपैयाँसम्म पाएका छन् । सोही परिणामको किवीको प्रशोधन गरेर तयार गरिएको जामबाट दोब्बर लाभ लिएका छन् ।
किवीको ग्रेडिङ गर्दै ठूला र आकर्षक फल बिक्रीका लागि बजार पठाइन्छ भने बाँकीलाई उपभोक्ताको मागअनुसार जाम र वाइन बनाउने गरिएको छ । गाउँपालिकाले आउँदो वर्षदेखि जुस, सुकुटी, क्याण्डी, अचारलगायतको उत्पादनलाई प्रयोगमा ल्याउने लक्ष्य लिइएको छ ।