Ad Image

दुई उत्तर कोरियाली सैनिकलाई पक्राउ गरेको युक्रेनको दावी

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1736653235.jpg

किभ । युक्रेनले दुई उत्तर कोरियाली सैनिकलाई पक्राउ गरेको छ । रुसको कुर्स्क ओब्लास्ट क्षेत्रबाट युक्रेनी सेनाले युद्धबन्दीको रूपमा दुई घाइते उत्तर कोरियाली सैनिकलाई पक्राउ गरेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जानकारी दिएका हुन । उनका अनुसार ती दुई सैनिकले आवश्यक चिकित्सा सहायता पाइरहेका छन् । हाल उनीहरू युक्रेनको सुरक्षा सेवा (एसबीयू) को हिरासतमा रहेका छन्।

राष्ट्रपति जेलेन्स्कीले उत्तर कोरियालीहरूलाई कब्जामा लिएकोमा युक्रेनी प्याराट्रूपर्स र विशेष अपरेशन फोर्सका सिपाहीहरूप्रति आफू कृतज्ञ रहेकोसमेत बताएका छन् ।  उनले भने, ‘यो सजिलो काम थिएन, रुस र उत्तर कोरियाली सैनिकहरूले सामान्यतया घाइते उत्तर कोरियालीहरूलाई मृत्युदण्ड दिने छन् ।’ उनका अनुसार युक्रेन विरुद्धको युद्धमा उत्तर कोरियाको संलग्नताको कुनै प्रमाण मेटाउनका लागि घाइते उनीहरूलाई मार्न सक्थे तर यो असफल भएको छ ।  

जेलेन्स्कीले दुईजना घाइते पुरुषको तस्बिर पनि पोस्ट गरेका छन् तर उनीहरू उत्तर कोरियाली भएको भने अझै प्रमाण दिएका छैनन्।  एउटा तस्बिरले मङ्गोलियाको सिमानामा रहेको रुसको टिभा क्षेत्रका २६ वर्षीय पुरुषलाई जारी गरेको रुसी सेनाको परिचयपत्र देखाइएको छ। यद्यपि, रुसले उत्तर कोरियाली लडाकुहरूलाई नक्कली परिचयपत्र दिएर लुकाइरहेको दावी गरिएको छ ।