दक्षिण कोरियाली राष्ट्रपति योन सुक योल पक्राउ


काठमाडौं । दक्षिण कोरियाली राष्ट्रपति योन सुक योललाई गिरफ्तार गरिएको छ। भ्रष्टाचार अनुसन्धान कार्यालय र प्रहरीले संयुक्त रुपमा मार्शल ल (सैनिक कानुन) प्रकरणमा उनीमाथि अनुसन्धान गरिरहेका छन् ।
यसअघि पनि उनलाई पक्राउ गर्ने प्रयास भए पनि राष्ट्रपति सुरक्षा दलले त्यसलाई असफल पारेको थियो । तर अहिले दोस्रो पटकको प्रयासमा अधिक बल प्रयोग गरी उनलाई पक्राउ गरिएको बीबीसीले जनाएको छ ।
गत ३ डिसेम्बरमा राष्ट्रपति योलले मार्शल ल घोषणा गरेका थिए । तर आफ्नै पार्टीका नेता र विपक्षी दललगायतको विरोधमा उनले आफ्नो निर्णय ६ घण्टामै फिर्ता लिएका थिए । यो घटनापछि १४ डिसेम्बरको दिन उनीविरुद्ध संसदबाट महाअभियोग प्रस्ताव पास भएको थियो । त्यसयता उनी पदबाट निलम्बित अवस्थामा छन् ।
सैन्य शासन लगाउन गरेको असफल प्रयासपछि उनीमाथि राज्य द्रोहको आरोप लागेको छ। केही समय अघि मात्र युनको सुरक्षा निकायका उपप्रमुख किम सुन होङ गिरफ्तार भएका थिए। दक्षिण कोरियाको तापक्रम माइनस ६ डिग्री सेल्सियस भए पनि यसले सोलमा यो घटना हेर्न आउनेको भीड घटेको छैन।