Ad Image

बौधीमाई नगरपालिकाको करोडौंको विकास बजेट फ्रिज पार्न आजपा 'सक्रिय'

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1737119687.jpeg

रौतहट । बौधीमाई नगरपालिकाको करोडौं रकमको विकास बजेट कार्यान्वयन गर्न प्रभु साह अध्यक्ष रहेकाे आम जनता पार्टीले अवरोध खडा गरेको छ ।

 

आफ्ना कार्यकर्ताहरु परिचालन गरेर आम जनता पार्टीले बौधीमाई नगरपालिकाको ढल निकास गर्ने नाला निर्माण तथा सडक निर्माण अवरुद्ध गरेको हो । गएको एक महिनाभित्र आम जनता पार्टीका अध्यक्ष प्रभु साह नै बैदिमाईमा ढल निकास तथा सडक विस्तार गर्ने नगरपालिकाको काममा बाधक बनेका छन् ।

 

स्थानीय नागरिकलाई बिरोधमा उतारेर उनले सडक र नाला निर्माण गर्न गएका पालिकाका कर्मचारी तथा प्रहरी प्रशासनमाथि नै ढुंगामुढा गर्न लगाएका छन् । एक स्काभेटर तहसनहस बनाइएको छ । बौधीमाई नगरपालिकाको वडा नम्बर ७, ८ र ९ मा रहेका सडकमा स्थानीय नागरिकहरुले अतिक्रमण गरेर संरचना बनाएपछि पालिकाले हटाउने पहल थालेको थियो । तर संरचना नहटाउन प्रभु साहको पार्टीका नेता कार्यकर्ताले नागरिकहरुलाई अनुरोध गर्दै आएका थिए । 

 

बौधीमाई नगरपालिकामा ८ करोड ६ लाखको ४ वटा प्रोजेक्ट टेण्डर भएर पनि साइट क्लिएर नभएका कारण अलपत्र अवस्थामा छन् । १ करोडको शहरी विकास सडक निर्माण, २ करोड ४४ लाखको नगरपालिकाको नाला निर्माण, दुई करोड ५८ लाखको बोर्डरदेखि मन्दिरसम्मको बाटो निर्माण, १ करोड ७२ लाख सडक निर्माणको लागि शहरीबाट टेण्डर निस्कने क्रममा रहेको काम अहिले अलपत्र अवस्थामा रहेको छ । स्थानीय नागरिकहरुले सरकारी जग्गा तथा सडकको जग्गामा संरचना बनाएको र हटाउन नमानेका कारण यी कामहरु अलपत्र अवस्थामा रहेका हुन् । साइट क्लिएर गरिदिन ठेकेदारले अनुरोध गरे पनि पालिकाले साइट क्लियर गर्न सकेको छैन ।

 

पालिकाका मेयर प्रदिपकुमार यादव भन्छन्, ‘घर र घरधनीले रोडमा बनाएका संरचना हटाउन पत्र पठाएँ । घर धनीहरुले पत्र बुझ्न मानेनन् । सार्वजनिक सूचना निकालेँ । त्यसपछि विभिन्न समयमा बैठक बोलाएँ । सर्वदलीय बैठक पनि राखेँ । तर संरचना हटाउन अवरोध मात्रै भयो । पछिल्लो समय त आक्रमण नै भयो ।’

 

साइट क्लिएर नभएका कारण समपुरक अनुदानहरु फ्रिज नै भएको मेयरले गुनासो गरे । गएको वर्ष नै अहिले विवाद भएको ठाउँको कामका लागि आएको ६५ लाख रुपैयाँ फ्रिज भयो । तर यसपटक मेयर पैसा फ्रिज नगराउने तयारीमा लागे । मेयरले वडा नम्बर ८ मा ढल निर्माण तथा सडक पीच गर्न संरचना नहटाएपछि डोजर चलाउने तयारी थाले । नेपाल सशस्त्र प्रहरी बल, प्रहरी चौकी तथा सिडिओ कार्यालयबाट सुरक्षाको माग गरे ।

 

गएको पुस ४ गते सरकारी क्षेत्रहरु अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन पालिकाले सूचना जारी गर्योे । घर तथा संरचना हटाउन माइकिङ पनि गरियो । तर कसैले संरचना हटाएनन् । त्यसपछि पुस ८ गते डोजर लिएर मेयर, उपमेयर, नगरप्रहरी, नगरपालिकाका कर्मचारी साथै नेपाल प्रहरी अवैध संरचना हटाउन गए । डोजरले रोडमा बनाएका घर भत्काउन थाल्यो । रोडमा घर बनाएका व्यक्तिहरुले ढुंगा प्रहार गर्न थाले । जम्मा भएको भीड भाग्न थाल्यो । मेयरको गाडीका चालकलाई ढुंगा लाग्यो । पालिकाका एक कर्मचारीलाई पनि ढुंगा लाग्यो । दुईजना प्रहरी पनि घाइते भए । मेयर यादवलाई पनि ढुंगा लाग्यो । डोजरलाई ढुंगा हानेर क्षतविक्षत बनाइयो ।

 

भीडले अन्दाधुन्दा ढुंगा बर्साउँदा पालिकाका कर्मचारीलगायत अन्य व्यक्ति भागाभाग गर्न थाले । मेयरका गाडी चालक परमानन्द यादवलाई ढुंगा लाग्यो । उनको टाउकोमा गहिरो चोट लाग्यो । दुई जना प्रहरीलाई पनि ढुंगा लाग्यो । पालिकाका सहायक कम्प्युटर अपरेटर शिवशंकर पासवानलाई पनि ढुंगा लाग्यो । स्थिति तनावग्रस्त भयो । चोट लागेका सबैलाई उपचार गर्न लगियो ।

 

उता घाइतेको उपचार थालियो भने यता प्रभु शाहका छोरालगायत अन्य आम जनता पार्टीका कार्यकर्तासहितको सहभागितामा सिडिओ कार्यालय रौतहटमा बैठक बस्यो । मेयरको काममा कुनै कमजोरी नभएको निष्कर्ष निस्कियो । सुरक्षाको ग्यारेण्टी हुनुपर्ने र अपराधीहरुलाई कानुनी दायरामा लैजाने तयारी थालियो । 
 

त्यसपछि यो विषय प्रहरीमा मुद्दाका रुपमा गयो । प्रहरीले आपराधिक उपद्रभ मुद्दा चलायो । वडा नम्बर ८ को सर्मुजुवा भन्ने ठाउँका विश्वनाथ दास, गजिन्द्र बैठा, शिवपुजन यादव, नवल यादव, दिपलाल यादव, गंगाराम बैठाविरुद्ध आपराधिक उपद्रभ कसूरमा मुद्दा दर्ता भयो ।

 

मुद्दाअनुसार प्रहरीले अनुसन्धान अघि बढायो । स्थानीय गंगाराम बैठा भन्ने व्यक्ति पक्राउ परे । अरुलाई प्रहरीले अहिले पनि फरारको सूचीमा राखेको छ । मुद्दा अदालतमा गयो । पुर्पक्षमा मुद्दा गयो । गंगाराम बैठालाई आपराधिक उपद्रभ मुद्दामा थुनामा पठाइयो । जिल्ला अदालत रौतहटले चलाएको मुद्दामा पुर्पक्षको सुनुवाईका दिन मेयर यादव पनि अदालत गएका थिए । अदालतमा आम जनता पार्टीका महासचिव त्रिभुवन साहले मेयरलाई गोली हानेर मार्ने धम्की पनि दिए । 

 

स्थानीय गंगाराम बैठालाई आपराधिक उपद्रभ मुद्दामा पुर्पक्षमा थुनामा पठाउने आदेश भएपछि प्रभु साहले मेयर यादव विरुद्ध र्‍याली नै निकाले । पालिकामा विकासका काम गर्न खोज्दा आम जनता पार्टीका अध्यक्ष प्रभु साह नै मेयरको विरुद्धमा उत्रिएका छन् । उनी कुनै हालतमा मेयरको नामबाट त्यहाँको काम हुन नदिने तयारीमा जुटेको स्रोतले बताएको छ । त्यहाँका मेयर र उपमेयर एकीकृत समाजवादी पार्टीका उम्मेदवार हुन् । त्यसैले पनि होला आम जनता पार्टीले उनीहरुको काममा अवरोध गरिरहेको छ ।

 

अध्यक्ष प्रभु साह अदालतका न्यायधिशविरुद्ध नै सामाजिक सञ्जालमार्फत आक्रमणमा उत्रिएका छन् । पहिला तिनै सोझा नागरिकलाई उचालेर ढुंगा बर्साउन लगाएका नेता प्रभु साहले अहिले ज्यान मार्ने कसूरमा पुर्पक्षमा थुनामा गएपछि मेयरको विरोध गरिरहेको देखिन्छ । प्रभु साहकै कारण पालिकाको क्षेत्रमा आएको ८ करोड ६ लाखको ४ वटा प्रोजेक्ट टेण्डर पनि अलपत्र अवस्थामा पुगेको छ ।

 

प्रशासन लगाएर भने पनि मेयर त्यहाँको विकास निर्माणका काम गराउने तयारीमा छन् भने आम जनता पार्टी त्यसलाई बिथोल्ने तयारीमा छ । आम जनता पार्टीका प्रवक्ता चन्द्रभुषण साह मेयरले विपक्षी दलका जनतामाथि चरम दमन गरेको आरोप लगाउँछन् । उनी भूमि आयोगमार्फत समाधान गर्नुपर्ने विवाद मेयरले गर्न खोज्दा समस्या भएको जिकिर गर्छन् ।