जीबी राईको राहदानी रद्द गर्न अदालतको आदेश


पोखरा । कास्की जिल्ला अदालतले सहकारी ठगी मुद्दामा फरार रहेका गिजेन्द्रबाबु (जिबी) राईको राहदानी रद्द गर्न आदेश दिएको छ । न्यायाधीश हिमलाल बेल्बासेको इजलासले जिबीको राहदानी रद्द गर्न आदेश दिएको हो ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुख्य अभियुक्त भनिएका जीबी राईको राहदानी रद्द गर्न राहदानी विभागमा पत्र पठाउने निर्णय भएको कास्की अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए ।
केही अभियुक्त पुर्पक्षका लागि कारागार चलान भएको र केही प्रतिवादी धरौटीमा रिहा भएको भएपनि पीडितले न्याय नपाएको भन्दै सरकारी वकिलको कार्यालयले बिहीबार जिल्ला अदालतमा निवेदन दर्ता गराएको थियो । त्यसैका आधारमा जीबीको राहदानी रद्द गर्न लेखी पठाउने आदेश भएको हो । अब अदालतको पत्र पुगेपछि विभागले रद्द गर्ने प्रक्रिया अघि बढाउनेछ ।