Ad Image

अखिल क्रान्तिकारीको मतगणना जारी, अध्यक्षमा सापकाेटा र राइबीच कडा प्रतिस्पर्धा

User Image Mayorsap | ३ महिना अगाडि
Image of storage/news/1738129870.jpg

काठमाडौँ । अनेरास्ववियू क्रान्तिकारीको विश्वविद्यालय र उपत्यका विशेष प्रदेशअन्तर्गत पदाधिकारीको मतगणना माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ । माघ १२ गते सम्पन्न भएको मतदान विवादबीच मंगलबार राति १० बजेबाट सुरु भएको थियो ।


बिहान १० बजेसम्म केन्द्रीय सदस्य, सचिवालय सदस्य, केन्द्रीय निकायका पदाधिकारी, केन्द्रीय सचिव र कोषाध्यक्षको मतगणना सम्पन्न भएको विद्यार्थी नेता मदन भट्टराईले जानकारी दिए । उनका अनुसार केही बेरमा महासचिवको गणना हुनेछ । यी दुई प्रदेशमा ५२२ मत रहेको छ ।


सात प्रदेशको मतगणना सकिँदा महासचिवमा राई पक्षका उम्मेदवार रोशन थापामगरले सबैभन्दा बढी ४०९ मत प्राप्त गरेका छन् । सापकोटा पक्षका महासचिवका उम्मेदवार सञ्जय महतोले जम्मा २९५ मत प्राप्त गरेका छन् ।


दुईबिचको मतान्तर ११४ को फरक छ । यस्तै तेस्रोमा प्रतीक कार्कीले १९० मत पाएका छन् । चौथोमा पदमप्रसाद काफ्लेले ११३ मत पाएका छन् । यसैगरी श्याम रोकाले ९४, सञ्जिव फुयाँलले ७६ र शिव बस्नेतले २३ मत प्राप्त गरेका छन् । उनले अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएर महतोलाई समर्थन गरेका थिए ।


यता अध्यक्षका उम्मेदवार विजयप्रकाश सापकोटा र हेमन्तराई पक्षबीच कडा टक्कर रहेको छ । अध्यक्षमा सापकोटा २० मतले अग्रता लिएका छन् । उनले ४८१ मत पाउँदा अर्का अध्यक्षका उम्मेदवार राईले ४६१ मतका साथ पछ्याइरहेका छन् । तेस्रोमा उपदेश यादवले २२१ मत पाएका छन् भने सुदिन पौडेल १४४ मत पाएर चौथो स्थानमा छन् ।  

 

प्रदेशतर्फ सापकोटा, राईसहित सुदिन पौडेल र उपदेश यादवले फरक फरक मत पाएका छन् ।  सापकोटाले कोशीमा ५७, मधेसमा ४०, बागमतीमा ८७, गण्डकीमा ६०, लुम्बिनीमा ८५, कर्णालीमा ८०, सुदूरपश्चिममा ७२ मत प्राप्त गरी अग्रता कायमै राखेका छन् ।  सापकोटालाई पछ्याएका राईले कोशीमा १२६, मधेसमा ४१, बागमती ४८, गण्डकी ३९, लुम्बिनी ६६, कर्णाली ८२, सुदूरपश्चिम ५९ मत पाएका छन् ।

 

तेस्रो स्थानमा रहेका यादवले कोशीमा ५१, मधेसमा ६७, बागमतीमा ५१, गण्डकीमा १५, लुम्बिनीमा १०, कर्णालीमा ५, सुदूरपश्चिममा २२ मत पाएका छन् । तर बलियो प्रतिस्पर्धी ठानिएका अध्यक्षका अर्का उम्मेदवार सुदिन पौडेलले कोशीमा १९, मधेसमा १, बागमतीमा १७, गण्डकीमा ६१, लुम्बिनीमा २२, कर्णालीमा ८, सुदूरपश्चिममा १६ मत पाएका छन् ।