Ad Image

सरकारको ‘ड्रिम प्रोजेक्ट’ धौवादी फलाम खानी

User Image Mayorsap | ३ महिना अगाडि
Image of storage/news/1739260558.jpeg

नवलपुर । सरकारले नवलपुरको हुप्सेकोट, बुलिङ्टार र बौद्धकालिका गाउँपालिकामा रहेको धौवादी फलाम खानीलाई ‘ड्रिम प्रोजेक्ट’का रूपमा अगाडि बढाउन तयारी थालेपछि स्थानीय बासिन्दा, जनप्रतिनिधि र उद्योगी(व्यवसायी उत्साहित भएका छन् । फलाम खानी सञ्चालन हुन सकेमा देशकै अर्थतन्त्रमा ठूलो योगदान पुग्ने भन्दै उनीहरूले यस परियोजनालाई छिटो कार्यान्वयनमा ल्याउन आग्रह गरेका छन् ।

 

हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डेले सबैभन्दा बढी यो खानी हुप्सेकोटका जनताको जीवनसँग जोडिएकाले यथाशक्य सञ्चालनको माग गरे । धौवादी फलाम खानी सञ्चालनमा तीनै तहका सरकारका साथै निजी क्षेत्रको समन्वय आवश्यक रहेको बताउँदै उनले भने, 'खानी सञ्चालनमा स्थानीयस्तरमा आइपर्ने समस्या समाधान तथा आवश्यक अन्य सहयोगका लागि गाउँपालिकाको साथ र सहयोग रहनेछ ' ।

 

नवलपुर क्षेत्र नम्बर २ का पूर्वसांसद तिलक महतले उक्त फलाम खानी उत्खननका विषयमा जनतामा समान तथा सकारात्मक धारणा रहेको बताउँदै नवलपुरका जनताको पूर्ण साथ, समर्थन र सहयोग रहेकाले सरकारले द्रुत गतिमा खानी सञ्चालनमा ल्याउनुपर्ने बताए । उनले सो खानी उत्खननको काम सुरु गरिए कम्तीमा पाँच हजार जनशक्तिले रोजगारी पाउने र यो आयोजनाले मुलुकको व्यापार घाटा कम गर्ने बताए । 'यो आयोजना नेपालको गौरवको आयोजना हो, यसले देशको अर्थतन्त्रमा आमूल परिवर्तन मात्र ल्याउँदैन, यसले खर्बौंको बाहिर मुलुकबाट भइरहेको फलामको आयातलाई निरुत्साहित गर्छ, यो हामी नवलपुरवासी मात्र नभई देशकै लागि खुसीको कुरा हाे,' उनले भने ।

 

रुद्रसेन राजाका पालादेखि सो फलाम खानी सञ्चालनमा भएको इतिहास रहेको छ । गण्डकी प्रदेशको पूर्वी नवलपरासीमा पर्ने हुप्सेकोट, बुलिङ्टार र बौद्धकालिका गाउँपालिका क्षेत्रमा ४१ वर्ग किलोमिटरमा फलाम रहेको तथ्य फेला परेपछि उत्खननका लागि विस्तृत अध्ययन गरिसकिएको छ । उक्त खानी क्षेत्र पूर्व–पश्चिम राजमार्गको मध्यविन्दुमा रहेको छ ।

 

संविधानसभा सदस्य एवं गण्डकी प्रदेशका पूर्वमन्त्री तथा वर्तमान प्रदेशसभा सदस्य रोशन गाहाले धौवदी फलाम खानी उत्खनन नेपालको समुन्नतिका लागि अहिलेको आवश्यकता भएको बताए । उनले भने,'धौवादी फलाम खानीको उत्खनन देशका लागि आवश्यकता मात्र होइन, जनताको समृद्धिको गौरवको आयोजना हो, प्राविधिक रूपमा अध्ययन सकिएको छ, देशको मध्यभागमा भएकाले पायक पर्ने ठाउँ छ, यहाँको फलाम पनि राम्रो छ, यो फलामले देशको आम्दानी पनि राम्रो हुन्छ ' यो फलाम खानी सिंगो देश र जनताको हितमा रहेको आयोजना भएकाले द्रूत गतिमा सञ्चालन हुनुपर्ने उनले बताए ।

 

प्रदेशसभा सदस्य गाहाले मगर समुदायको बसोबास रहेको सो फलाम खानी क्षेत्रको बस्तीलाई व्यवस्थित गरी केरङ्गे, बौलाहा, पत्थर, झरइलगायत खोलाको व्यवस्थित तटबन्धन तथा नियन्त्रण गरेर खानी उत्खनन गर्नुपर्नेमा जोड दिए । उनले देशभरका अन्य आयोजना तथा परियोजनाका तुलनामा बस्ती सार्न तथा खेतीयोग्य जग्गाको प्रयोग अत्यन्त कम मात्र पर्ने भएकाले न्यून क्षतिमा यो गौरवको आयोजना सञ्चालन गर्न सकिने जानकारी दिए । महाभारत शृङ्खलामा रहेको यो खानी सञ्चालनले मुलुकमा हुने फलामको आयातलाई विस्थापन गर्न सकिने उनको भनाइ छ ।

 

नेपाललाई फलाममा आत्मनिर्भर बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष चासो व्यक्त गरेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले धौवादी फलाम खानीलाई सरकारको ‘ड्रिम प्रोजेक्ट’कै रूपमा अगाडि बढाउन पहल थालेको हो । सरकारी तवरबाटै सो खानी उत्खनन गर्न कम्तीमा ५ वर्षको समय लाग्ने भएपछि सरकारले द्रुत गतिमा फलाम खानी सञ्चालनका लागि पहल थालेको हो । उद्योगमन्त्री दामोदर भण्डारीले उक्त खानीलाई द्रुत गतिमा सञ्चालनका लागि गर्नुपर्ने विभिन्न विकल्पका लागि परामर्श थाल्नाका साथै थाती कामलाई अगाडि बढाउन पहल थालेका छन् ।

 

सरकारले धौवादीलाई विशेष महत्व दिएर काम अगाडि बढाउन प्रक्रिया थालेको मन्त्री भण्डारीले जानकारी दिए । धौवादी फलाम खानी उत्खननको काम द्रुत गतिमा अगाडि बढाउन सरकारले यसको स्वरुपलाई परिवर्तन गर्न खोजेको उनले जानकारी दिए । मन्त्री भण्डारीले भने, ुधौवादीलाई सरकारले उद्योगका रूपमा स्थापना गरेपछि ५५ प्रतिशत सरकारको र निजी क्षेत्रको ४५ प्रतिशत शेयरको व्यवस्था गरेपछि यसमा आकर्षण बढ्न सकेन, सरकारको आफ्नै लगानीमा सम्भव छैन, त्यसैले यो खानी उत्खनन गर्न निजी क्षेत्रको विशेष आकर्षणका लागि सरकारले पहल बढाएको छ , ।