Ad Image

तनहुँमा ३ जना विद्यार्थीलाई तातो पन्युले डाम्ने शिक्षिका पक्राउ

User Image मेयरसाप डेस्क | ४ महिना अगाडि
Image of storage/news/1739371981.jpg

काठमाडौं । कक्षाकोठामा हो–हल्ला गरेको भन्दै तनहुँकी एक शिक्षिकाले एक जना बालकलाई गालामा तातो पन्युले डामेकी छिन्। भीमाद नगरपालिका–६ शान्तिनगरकी ३४ वर्षीया सुष्मा श्रेष्ठले प्रभात एकेडेमी बोर्डिङ स्कुलमा कक्षा ४ मा अध्ययनरत एक बालकलाई तातो पन्युले गालामा डामेर घाइते बनाएकी हुन्।

मंगलबार साढे ११ बजे शिक्षिका श्रेष्ठले कक्षामा हो–हल्ला गरेको भन्दै सजाय दिने बहानामा तातो पन्युले बालकको गालामा डामेको तनहुँ प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक राजु अधिकारीले बताए।

‘शिक्षिकाले गालामा पन्युले डाम्दा बालक घाइते भएको भनी सामाजिक सञ्जालमा सार्वजनिक भएपछि शिक्षिकालाई पक्राउ गरिएको छ,’ अधिकारीले भने। शिक्षिका श्रेष्ठले अन्य दुई जना विद्यार्थीलाई समेत सोही प्रकृतिले डामेको खुलेको छ। यसरी शिक्षिकाले सजायको नाममा यातना दिएपछि पीडित बालकका अभिभावक प्रहरीमा जाहेरी दिन पुगेका थिए।

उक्त स्कुलकी लेखापालसमेत रहेकी शिक्षिकालाई बुधबार नियन्त्रणमा लिएर बालबालिकाविरूद्धको कसुरमा प्रहरीले अनुसन्धान थालेको छ। श्रेष्ठलाई जिल्ला अदालत तनहुँले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।