Ad Image

अनलाइनमा २ अर्ब बढीको जुवा खेलाउने थप चार भारतीय नागरिक बुढानिलकण्ठबाट पक्राउ

User Image Mayorsap | ३ महिना अगाडि
Image of storage/news/1739882917.jpg

काठमाडौं । गैरकानुनी अनलाइन जुवा खेलाएको आरोपमा थप चार जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत उत्तरप्रदेश गोरखपुर घर भई काठमाडौं बुढानिलकण्ठ–२ बस्ने २२ वर्षीय एमडी आरिफ हुसेन, उत्तर प्रदेशकै फत्तेपुर जिल्ला घर भएका ४२ वर्षीय अब्दुल कलाम, २५ वर्षीय अभिषेक मदेसिया र ४० वर्षीय इरफान पठान रहेका छन्।

उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार बुढानिलकण्ठ नगरपालिका–२ तौलुङबाट पक्राउ गरेको हो। परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीका अनुसार उनीहरूलाई घर भाडामा लिएर गैरकानुनी अनलाइन जुवा खेलाएको आरोपमा सोमबार बेलुका पक्राउ गरिएको हो।

उनीहरूले दुई अर्ब रुपैयाँभन्दा बढीको अनलाइन जुवा खेलाएको प्रारम्भिक अनुसन्धनले देखाएको एसएसपी अधिकारीले बताए । पक्राउ परेका भारतीयबाट १२ थान ल्यापटप, १२ थान मोबाइल, क्यालकुलेटर ७ थान र हिसाब(किताबको अभिलेख राखिएको १३३ पाना र डायरी तीन थान बरामद भएको अधिकारीले बताए।

उनीहरुलाई आज  जिल्ला अदालतबाट पाँच दिन थुनामा राख्ने अनुमति लिएर अनुसन्धान थालिएको अधिकारीले बताए। सोमबारै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुढानिलकण्ठबाटै डेढ अर्बबढीको अनलाइन जुवा खेलाएको आरोपमा २४ जना भारतीयलाई पक्राउ गरेको थियो। यसअघि तीन अर्बबढीको अनलाइन जुवा खेलाएको आरोपमा परिसरले बुढानिलकण्ठको घरमा छापा मारेर भारतीय र नेपाली पक्राउ गरेको थियो।