संस्कृत विश्वविद्यालयको ९ सय १० बिगाहा जग्गा अतिक्रमण


काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयको जग्गा खोजबिन समितिले आज प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष प्रतिवेदन हस्तान्तरण गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा समितिका संयोजक शेखरप्रसाद पौडेलले विश्वविद्यालयको विद्यमान जग्गाहरूको उपयोग, अतिक्रमणको अवस्था र अतिक्रमण हटाउन चालिनु पर्ने कदमका विषयमा सुझावसहितको प्रतिवेदन कुलपति ओलीलाई बुझाएका हुन ।
नेपाल सरकार (मन्त्रिपरिषद्) को गत असार २० गतेको निर्णयबाट उच्च अदालतका पूर्व न्यायाधीश पौडेलको संयोजकत्वमा पाँच सदस्यीय जग्गा खोजबिन समिति गठन गरिएको थियो । समितिका अनुसार दाङमा रहेको विश्वविद्यालयको कूल १ हजार छ सय ६२ विगाहा जग्गा रहेको र देउखुरी क्षेत्रमा एक हजार तीन सय ३६ विगाहामध्ये नौ सय १० विगाहा अतिक्रमण भई २०५९ देखि ती जग्गाबाट विश्वविद्यालयले कुनै आम्दानी प्राप्त नगरेको पाइएको छ । सोही क्षेत्रमा विश्वविद्यालयको २ सय विगाहा जमिन राप्ती नदीले कटान गरेको पाइएको छ ।
संयोजक पौडेलले जग्गालाई उपयोगमा ल्याउन लिजमा दिन सकिने र अतिक्रमण हटाउन सरकार र राजनीतिक दलको सहयोग आवश्यक हुुने सुझाव दिएका छन् । प्रधानमन्त्री ओलीले प्रतिवेदन ग्रहण गर्दै अध्ययन र छलफल गरेर आवश्यक प्रक्रिया अघि बढाउने विश्वास दिलाउँदै विश्वविद्यालयहरुमा तालाबन्दी र अतिक्रमणजस्ता अवाञ्छित क्रियाकलाप रोकिनुपर्नेमा जोड दिएका छन । प्रतिवेदन हस्तान्तरणका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति विद्या भट्टराई पनि सहभागी थिइन ।