Ad Image

साताको पहिलोदिन ७५ अंकले बढ्यो सेयर बजार

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1740910447.jpg

काठमाडौँ । सेयर बजार एकैदिन ७५ अंक बढेको छ । साताको पहिलो दिन आइतबार बजार परिसूचक ७५.२४ अंकले बढेर २८९०.२८ विन्दुमा पुगेको हो । आज बजारमा १४ अर्ब २५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो । बजारमा आज १९६ कम्पनीको मूल्य बढेको छ । ४४ कम्पनीको मूल्य घट्दा ४ कम्पनीको मूल्य स्थिर रहेको छ ।


बजारमा आज म्युचुअल फण्डबाहेक सबै समूहको सूचक बढेको छ । उत्पादनमूलक उद्योगमा सर्वाधिक ४.७९ प्रतिशत, जीवन बीमामा ४.३१ प्रतिशत, फाइनान्समा ४.२८ प्रतिशत, होटल तथा पर्यटनमा ४.१४ प्रतिशत मूल्य बढेको छ । विकास बैंक, इन्भेस्टमेन्ट तथा निर्जीवन बीमा समूहमा पनि ३ प्रतिशत भन्दा धेरैले बृद्धि हुँदा बजार पुँजीकरणमा सबैभन्दा धेरै हिस्सा रहेको वाणिज्य बैंक समूहमा २।५३ प्रतिशत वृद्धि भएको छ ।


आज बजारमा ५ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । यी कम्पनीहरूमा हिमालयन डिस्टिलरी, गार्डियन माइक्रो लाइफ, नेपाल लाइफ इन्स्योरेन्स, सिन्धु विकास बैंक र दोर्दीखोला जलविद्युत रहेका छन् । समाज लघुवित्तमा भने नकारात्मक सर्किट लागेको छ ।


आज बजारमा नेपाल पुनर्बीमा कम्पनीको ९७ करोड र हिमालयन रिइन्स्योरेन्सको ८६ करोड रुपैयाँको कारोबार भयो । कारोबार संख्याको आधारमा हिमालयन पहिलो र नेपाल पुनर्बीमा दोस्रो स्थानमा रहेको छ ।


आज बजार बढ्नुमा राष्ट्र बैंकले लिएको खुकुलो मौद्रिक नीतिको प्रभाव, नेपाल राष्ट्र बैंकमा हुँदै गरेको नेतृत्व परिवर्तन तथा अर्थतन्त्रमा सुधार हुँदै गएको अवस्थालाई प्रमुख कारण मानिएको छ । बजारले अहिले लिएको उचाइ विगत ६ महिनाकै सबैभन्दा बढी हो ।