राष्ट्रसंघका महासचिव गुटेरेस बंगलादेशमा


काठमाडौं । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले बंगलादेशमा बसोबास गर्ने १० लाखभन्दा बढी रोहिंग्या शरणार्थीहरूको अवस्थाको समीक्षा गरेका छन् । समाचार एजेन्सी एसोसिएटेड प्रेसका अनुसार बिहीबार बंगलादेश पुगेका गुटेरेसले रोहिंग्या शरणार्थीको शिविर रहेको बंगलादेशको कोक्स बजारको भ्रमण गरेका छन् ।
त्यसपछि सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुससँग भेट गरेका गुटेरेसले सरकारलाई धन्यवाद दिँदै लेखेका छन्– 'देश नयाँ परिवर्तनहरूबाट गुज्रिरहेको बेला, सबैका लागि दिगो र उज्ज्वल भविष्य निर्माण गर्न संयुक्त राष्ट्र संघमा तपाईं भर पर्न सक्नुहुन्छ ।'
विश्व खाद्य कार्यक्रम र अन्य संस्थाहरूले सहायतामा सम्भावित कटौतीको घोषणा गरेपछि विशेष गरी युएसएडले आफ्नो सञ्चालन बन्द गरेपछि उनको भ्रमणले महत्व राख्ने बताइएको छ ।
यसैबीच, बंगलादेशको अन्तरिम सरकारले गुटेरेसको यो भ्रमणले रोहिंग्या शरणार्थीहरूको लागि सहायता सङ्कलन गर्न विश्वभर भइरहेका प्रयासहरूलाई थप सहयोग मिल्ने र उनीहरूको समस्यातर्फ विश्वको ध्यान आकर्षित गर्ने जनाएको छ ।