Ad Image

नयाँ वर्षदेखि कलैयाको बसर्पाक सञ्चालनमा ल्याउने तयारी

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1742393448.png

कलैया । कलैया उपमहानगरपालिका–४ मा रहेको बसपार्क व्यवस्थित तरिकाले संचालन गर्ने निर्णय भएको छ । बुधबार नगर प्रमुख विनोद साहको अध्यक्षतामा पालिकाको सभाहलमा बसेको सर्वपक्षीय बैठकले बसपार्क सञ्चालनका लागि आवश्यक तयारी चैत मसान्त भित्र सम्पन्न गर्ने र वैशाख १ देखि विधिवत् रुपमा सञ्चालन गर्ने निर्णय गरेको हो । बसपार्कमा आवश्यक भौतिक संरचना निर्माण गरेर व्यवस्थित बनाइने भएको छ । 

 

कलैया उपमहानगरपालिकाका जनप्रतिनिधि, जिल्लाका सुरक्षा प्रमुखहरु, बस तथा अन्य यातायात व्यवसायी संघ लगायतका प्रतिनिधि सम्मिलित बैठकले बसपार्क भित्र टिकट काउण्टर राख्ने, गाडी ईन्ट्री गर्ने तथा त्यसको रेकर्ड राख्ने र ती सबै कार्यका लागि नगर कार्यपालिकाले बसपार्क सञ्चालन कार्यविधि बनाउने निर्णय पनि गरेको छ । 

बैठकमा नगर प्रमुख विनोद साहले नगरभरी छरिएर रहेको ई–रिक्सा तथा अन्य साना सवारीहरुलाई रुट अनुसार सञ्चालन गर्ने र भाडा निर्धारण गर्ने तयारी गरिरहेको पनि जानकारी गराए । उनले ती सवारीहरूलाई अनिवार्य रुपमा उपमहानगरपालिकामा दर्ता गर्नुपर्ने व्यवस्था बनाउन लागिएको बताए ।

 

यस्तै बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले बसपार्क सञ्चालनका लागि सबैको सहकार्य आवश्यक रहने बताए । उनले शान्ति सुरक्षा र आवश्यक सहजिकरणका लागि जिल्ला प्रशासन कार्यालय सधैं तयार रहेको बताए।