गैरकानुनी रूपमा पदमुक्त गरिएको भन्दै कुलमान पुगे सर्वोच्च अदालत


काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई गैरकानुनी रुपमा पदमुक्त गरिएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट हालेका छन् । उनले वारेसमार्फत रिट निवेदन पठाएका थिए ।
कुलमानको तर्फबाट उनका कानून व्यवसायी लोकमणि पोखरेलले सर्वोच्चमा रिट दर्ता गरेका हुन् । सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलका अनुसार उनले पठाएको निवेदन बुधबार ५ बजेतिर वारेसमार्फत आइपुगेको हो । सो निवेदनबारे सर्वोच्च प्रशासनले बिहीबार अध्ययन गरेर थप प्रक्रिया अघि बढाइने भएको छ ।
सरकारको निर्णय बदर गरी आफूलाई कार्यकारी निर्देशकमा पुनस्थापना गर्नुपर्ने उनको माग छ । उनले निवेदनमा नेपाल सरकार, ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य लगायतलाई विपक्षी बनाएका छन् ।