Ad Image

स्थानीय सरकारको एकै स्वर– शिक्षा विधेयक हिउँदे अधिवेशनबाट ल्याउनुपर्छ

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1742994894.jpeg

काठमाडौं । स्थानीय सरकारले शिक्षा विधेयक कुनै पनि हालतमा यही हिउँदे अधिवेशनबाट ल्याउनुपर्नेमा जोड दिएका छन् ।  नेपाली कांग्रेसको शिक्षा विभागद्वारा बुधबार आयोजित विद्यालय शिक्षा विधेयक र जनप्रतिनिधि सरोकार विषयक विमर्श कार्यक्रमका सहभागीहरूले शिक्षा विधेयक तत्काल ल्याउनु पर्ने बताएका हुन । 

 

कांग्रेसबाट देशभरका पालिका प्रमुख र उपप्रमुखसँग केन्द्रीय सदस्य नैनसिंह महर नेतृत्वको शिक्षा विभागले विधेयकका विषयमा विमर्श गरेकोमा उक्त सुझाव प्राप्त भएको हो । विभागले स्थानीय तहका प्रमुख, उपप्रमुखले शिक्षा विधेयकबारे दिएको सुझावलाई विधेयकमा समेट्नका लागि विमर्श गरिएको महरले बताए ।

 

स्थानीय प्रतिनिधिहरूको धारणा के छ, विद्यालय शिक्षा विधेयकमा के सुधार गर्नुपर्ने छ र कांग्रेसबाट विधेयकका विषयमा उठाउनु पर्ने एजेन्डा के–के हुन् भन्ने विषयमा छलफल गर्दै सुझाव संकलन गरेका छौं। उहाँहरू सबैले शिक्षा क्षेत्रलाई व्यवस्थित बनाउन जसरी पनि शिक्षा विधेयक ल्याउनुपर्नेमा जोड दिनु भएको छ, महरले भने।

 

शिक्षा प्रणाली र यसका आयाममा विश्वव्यापी परिवर्तन भइरहेका बेला आफूहरूको नीति र प्राथमिकतामा पनि रुपान्तरण आवश्यक रहेको उनले बताए । राष्ट्रिय आवश्यकतामुखी एवं अन्तर्राष्ट्रिय परिवेश सुहाउँदो शिक्षाका लागि नीतिमा सामयिक सुधार जरुरी छ, महरले भने।

 

छलफललाई सम्बोधन गर्दै उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाली समाजलाई असल बाटोमा डोर्‍याउन गुणस्तरिय शिक्षामा जोड दिनुपर्ने बताए । राम्रो शिक्षा दिन सके समाजमा जिम्मेवार, असल नागरिक उत्पादन हुने उनको भनाई छ । शिक्षाले नै समाजलाई परिवर्तनको बाटो लैजाने सिंहले बताए ।