पूर्व राजा ज्ञानेन्द्र शाहको सेवा सुविधा खाेस्ने तयारी, पासपोर्ट समेत रद्द गर्दै सरकार


काठमाडौं । तीनकुनेमा हिंसात्मक द्वन्द्व गराउन आर्थिक सहयोग गरेकाे र याेजना बनाएकाे अभियाेगमा सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सेवा सुविधा खाेस्ने र राहदानीसमेत रद्द गर्ने प्रक्रिया थालेको छ ।
सरकारी स्रोतका अनुसार शुक्रवारको हिंसात्मक आन्दोलनको निर्देशन उनैबाट भएकोले छानविन थालिएपछि विदेश भाग्ने आशंकामा ज्ञानेन्द्र शाहकाे राहदानी रद्द गर्ने प्रक्रिया अघि बढाइएकाे हाे ।
सरकारमाथि ज्ञानेन्द्रलाई कारवाही गर्न विपक्षी दलहरुबाट पनि दबाब बढिरहेको छ । दुर्गा प्रसाईंको नेतृत्वमा शुक्रबार तीनकुनेमा भएकाे राजनीतिक सभा बिथाेलिँदा हिंसात्मक गतिविधिहरू भएका थिए । सरकारले यसकाे छानबिन अगाडि बढाएकाे छ ।
घटनामा दुई जनाको ज्यान गएकाे र धेरै घाइते भएकाे अवस्था छ । हिंसात्मक घटनामा संलग्नलाई कारबाही गर्न, ज्ञानेन्द्रलाई देशबाहिर जान रोक लगाउन र उनले पाउँदै आएको सुविधा खोस्न मन्त्रीहरूले प्रस्ताव गरेका छन्। सरकारले यो निर्णय लिने तयारी गरेको छ। शुक्रबार रातिको मन्त्रिपरिषद् बैठकमा हिंसात्मक र आपराधिक गतिविधिबारे गम्भीर छलफल भएको थियो।
शनिबार बिहानदेखि प्रहरीले प्रमाण संकलन थालेको छ। व्यक्ति हत्या, ज्यान मार्ने उद्योग, आपराधिक उपद्रव र संगठित अपराधको आरोपमा अनुसन्धान हुने प्रहरीले जनाएको छ। शुक्रबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले शान्तिपूर्ण आन्दोलनमा सरकारको आपत्ति नभए पनि तोडफोड र दुई जनाको ज्यान जाने हिंसात्मक गतिविधिको अनुसन्धानमा कठोर हुन निर्देशन दिएका थिए।