डा. युवराज संग्रौलामाथि विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोप


काठमाडौं । ‘काठमाडौं स्कुल अफ ल’ (केएसएल) का सञ्चालक एवं प्राध्यापक डा.युवराज संग्रौलामाथि विद्यार्थीहरूलाई दुर्व्यवहार गरेको गम्भीर आरोप लागेको छ । एक विद्यार्थीले सामाजिक सञ्जाल इन्स्टाग्राममा लेख्दै पूर्वमहान्यायाधिवक्ता समेत रहेका संग्रौलाले छात्राहरुसँग यौनजन्य टिप्पणी गर्ने, ब्याक मसाज गर्न बाध्य पार्ने र महिला तथा अल्पसंख्यक विरुद्ध आपत्तिजनक शब्द प्रयोग गर्ने गरेको आरोप लगाएकी छन् ।
प्रेमीले केबल शारीरिक सम्बन्धको चाहना राख्छ भन्दै संग्रौलाले आफूलाई पुरुषहरुसँग नसुत्न, विवाह नगर्न र सम्बन्धहरूबाट टाढा बस्न भनेको ती विद्यार्थीले उल्लेख गरेकी छन् । पशुलाई जसरी महिलाको भविष्यका बच्चाहरुको आकारबारे पनि अड्कल गर्ने गरेको भन्दै उनले तपाईंलाई यस्तो टिप्पणी गर्ने अधिकार कसले दियो ?’ भनेर प्रश्न गरेकी छन् ।
संग्रौलाले निरन्तर अपमानजनक, लज्जासपद, घिनलाग्दा टिप्पणीहरु गर्ने गरेको र यसका विरुद्ध कुनै विद्यार्थीले आवाज उठाउन खोजे धम्की दिएर चुप लाग्न बाध्य पारिने गरेको बताएकी छन् । उनको पोस्टमा अरू विद्यार्थीले पनि कमेन्ट र सेयर गर्दै दुर्व्यवहारबारे उल्लेख गरेका छन् । कलेजका अन्य प्राध्यापकहरुले समेत विद्यार्थीलाई दुर्व्यवहार गर्ने गरेको विद्यार्थीहरुले बताएका छन् ।
ती विद्यार्थीले यसबारे १२ डिसेम्बर २०२४ मा कलेज प्रशासनमा उजुरी दिए पनि कुनै सुनुवाइ नभएको भन्दै सामाजिक सञ्जालमा पोस्ट गर्नुपरेको पनि भनेकी छन् । उनले निवेदनमा कार्यकारी निर्देशक संग्रौलालाई तत्काल निलम्बन गरेर छानबिन गर्नुपर्ने सहितका ५ बुँदे माग राखेकी छन् । संग्रौलाले दुर्व्यवहार गरेको भन्दै ६ वर्षअघि पनि लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका एक व्यक्तिले सार्वजनिक रुपमा बोलेका थिए ।
किन रोकियो छानबिन ?
घट्ना सार्वजनिक भएसँगै कलेज प्रशासनले जाँचबुझ प्रक्रिया अघि बढाउने निर्णय भएको जनाएको छ । आन्तरिक उजुरी तथा गुनासो समितिकी सदस्यसचिव लक्ष्मी सापकोटाले शुक्रबार विज्ञप्ति जारी गर्दै वार्षिक परीक्षा आउन लागेकाले निवेदक समेतको हितलाई ध्यानमा राखेर छानबिन रोकिएको उल्लेख गरेकी छन् ।
‘निवेदनमा कलेजका पदाधिकारी एवं शिक्षकहरुलाई समेत इंगित गरिएको सन्दर्भमा आन्तरिक रुपमा बुझबुझारथ गर्ने कार्य सम्पन्न भई निवेदनसँग दाबी गरिएको विषयसँग सम्बन्धित थप विवरण भए संकलन गर्ने निर्णय भएकोमा...’, विज्ञप्तिमा भनिएको छ, ‘एकेडेमी इन्चार्जबाट अहिले विश्वविद्यालयको वार्षिक परीक्षा सन्निकट रहेको र यतिबेला निवेदनलाई आमन्त्रण गरी छलफल गर्दा यसको नकरात्मक प्रभाव निवेदकको परीक्षामा समेत पर्ने सम्भावना देखिएकाले निवेदकको उच्चतम हित र भलाइलाई मध्यनजर गरी वार्षिक परीक्षाको समापनपछि छलफलको लागि बोलाउन उपयुक्त हुने सल्लाहअनुसार निवेदकलाई परीक्षापछि आमन्त्रण गर्ने निर्णय भएको हो ।’
विज्ञप्तिमा कलेजमा पेस गरेको निवेदन सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको अवस्थामा गम्भीरतालाई मध्यनजर गरेर समितिमा उपस्थित भएर उजुरीको कारबाही र किनारामा सहयोग गर्न पत्राचार गरि सकिएको भनिएको छ ।
‘निवेदनमा कलेजका पदाधिकारिहरुको सन्दर्भ जोडिएको विषयलाई समेत हेर्न एउटा स्वतन्त्र छानबिन समिति गठन गर्ने प्रक्रिया समेत अगाडि बढिसकेको हुँदा छानबिन प्रक्रिया सम्पन्न नभइञ्जेल धैर्य धारण गर्न सम्बन्धित सबैमा अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ ।

निष्पक्ष छानबिन गर्न माग
कलेज प्रशासनले निवेदन उपर छानबिन गर्न बनाएको समितिलाई विद्यार्थीहरूले अस्वीकार गरेका छन् । कलेजका पदाधिकारी र नेपाल बार एसोसिएसनका प्रतिनिधि रहने गरी कलेजले छानबिन समिति बनाएको र त्यसमा संस्थापक संग्रौलाको प्रभाव पर्ने भन्दै उनीहरुले राष्ट्रिय महिला आयोगका प्रतिनिधि पनि सहभागी गराउनु पर्ने माग गरेका छन् । घट्नाको सत्य, तथ्य र निष्पक्ष छानबिन गर्न कलेज प्रशासन, बार एसोसिएसनका प्रतिनिधि र महिला आयोगको प्रतिनिधि सम्मिलित छानबिन समिति बनाउनु पर्ने माग विद्यार्थीहरूले गरेका छन् ।