Ad Image

पाल्पा रम्भा गाउँपालिकाका महिलालाई पञ्चेबाजा बजाउने प्रशिक्षण

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1743491001.jpeg

पाल्पा । परम्परागत कला संस्कृतिको संरक्षण र जगेर्ना गर्नका लागि पाल्पाको रम्भा गाउँपालिकाका महिलालाई वाद्यवादनसम्बन्धी सीप प्रदान गरिएको छ । वडा नं २ स्थित कोटथरका महिलालाई लक्षित गरेर पञ्चेबाजा बजाउने सीप प्रदान गरिएको हो ।


सिकाइ प्रवद्र्धन परियोजना गाउँपालिकाको आयोजनामा १० दिनसम्म पञ्चेबाजा बजाउने तालिम आयोजना गरी बजाउने सीप सिकाइएको छ । यहाँका २५ महिलालाई सहनाइ, ढोलक, दमाहा, झ्याली, टेम्को, नरसिम्हालगायत बाजा बजाउन सिकाइएको गाउँपालिकामा सिकाइ प्रवद्र्धन परियोजनाका तालिम अधिकृत कृष्ण कुँवरले जानकारी दिए ।


महिलालाई आयआर्जनतर्फ अग्रसर बनाउन कृषि, सिलाइकटाइ, ब्युटिपार्लर, पञ्चेबाजा लगायतका विभिन्न सीपमूलक तालिम सञ्चालन गर्दै आइरहेको कुँवरले बताउनुभयो । कलासंस्कृति संरक्षण मात्र नभई यस्ता खालका तालिमले महिलालाई आयआर्जनतर्फ अगाडि बढ्न सजिलो हुने कोटथर महिला समूहकी अध्यक्ष दिलमाया पाँडे मगर बताउँछन् ।


बाजा बजाउने सीप प्रदान रोशन परियार र गनबहादुर सारुले गरेका हुन् । गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले परम्परागत लोकसंस्कृति जगेर्ना गर्दै महिलालाई लक्षित गरेर सञ्चालन गरिएको यस तालिमपश्चात् आयआर्जनमा टेवा पुग्ने बताए।


स्थानीय तहले हिजोआज महिलालाई लक्षित गरेर वाद्यवादनसम्बन्धी तालिम तथा सीप सिकाउने कार्यक्रम सञ्चालन गर्न थालेका छन् । गाउँघरमा वाद्यवादनको क्षेत्रमा पुरुष नै अग्रसर हुने गरेकामा वाद्यवादनसम्बन्धी तालिम र सीप सिकेर महिला पनि अहिले वाद्यवादनको क्षेत्रमा सक्रिय हुने गरेका छन् ।


स्थानीय तहले वाद्यवादनसम्बन्धी विभिन्न कार्यक्रम आयोजना गरी सिकाउन थालेपछि यस क्षेत्रमा महिला अग्रसर बनेका छन् । घरको कामधन्दा सकाएर वाद्यवादन सीप सिक्ने कार्यमा महिलाको आकर्षण बढ्दो छ ।