मानवत–मटिअर्वामा संसदीय समितिको अनुगमन, काम नगर्ने ठेकेदारलाई कारबाही गरिने


बारा । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिका सदस्यहरुले मानवत–मटिअर्वा सडकखण्डको स्थलगत अनुगमन गरेका छन् । समितिका सदस्यहरुले बिहीबार उक्त सडकखण्ड अन्तर्गत निर्माण हुन बाँकी रहेको संस्कार एफएमदेखि सितलपुरसम्म तीन किलोमिटर सडकको स्थलगत अनुगमन गरेका हुन् ।
निर्माण व्यवसायीले निर्माणमा हेलचेक्र्याईं गर्दा जनतालाई व्यापक समस्या भएपछि समितिका सदस्यहरु स्थलगत अनुगमनमा पुगेका हुन् । अनुगमन समितिका संयोजक सांसद किशान श्रेष्ठको नेतृत्वमा रहेको टोलिले भरत चौकदेखि संस्कार एफएम तर्फको सडक अनुगमन गरेका छन्।
अनुगमन समितिलाई कलैया उपमहानगरपालिकाका नगर प्रमुख बिनोद साहले सडक निर्माणमा विगतदेखिका समस्या र वर्तमान अवस्थाबारे अवगत गराए। नगर प्रमुख साहले पटक–पटक हुलाकी सडक आयोजना र सडक बोर्ड धाउँदा समेत निर्माण व्यवसायीको लापरवाहीले सडक निर्माणमा ढिलाई भई जनतालाई समस्या भएको जानकारी दिए ।
अनुगमनका क्रममा स्थानीयहरुले विरोध प्रदर्शन गरिरहेको स्थानमा पुगेर सांसदहरुले यथाशिघ्र यसबारे कारबाही प्रकृया अगाडि बढाउन दवाव दिने बताए ।
टोलीका संयोजक श्रेष्ठले जनताको प्रत्यक्ष सरोकार रहेको सडक वर्षौँसम्म अलपत्र पार्ने ठेकेदारलाई कारबाही गर्ने समेत बताए । उनले ठेकेदारलाई समितिमा डाकेर यसबारे स्पष्टीकरण लिने र वर्षात अगावै सडक निर्माणको कार्य सम्पन्न गर्न निर्देशन दिने जनाए ।
अनुगमनका क्रममा संसदहरु गणेश पराजुली, महेन्द्रबहादुर शाही, रमा कोइराला पौड्याल, रामशंकर यादव लगायतकाले ठेकेदारको बलमिच्यार्इंले जनताले सास्ती खेप्नु परेको भन्दै यसबारे संसदमा आवाज उठाउने बताएका छन् ।
अनुगमन समितिलाई संविधानसभा सदस्य प्रमोद गुप्ता, पूर्व सांसद रामबाबु कुमार यादव लगायतले सडक निर्माणमा विगतदेखिका अवरोध, समस्या र वर्तमान अवस्थाबारे जानकारी दिएका थिए।