Ad Image

कनकाई नगरपालिकाको वडामा मेलमिलाप समिति सक्रिय

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1743745484.jpg

झापा । कुनै समय झापाको कनकाई नगरपालिकाको न्यायिक समितिलाई मुद्दा मिलाउन भ्याइनभ्याइ हुन्थ्यो । एकै वर्षमा चार सयसम्म मुद्दाको चापले न्यायिक समिति व्यस्त हुन्थ्यो । तर, अहिले उक्त संख्या १२ वटामा झरेको छ । अहिले मुद्दाको चाप घटेको छ भने न्याय सम्पादन अझ सहज बन्दै गएको छ ।

 

कनकाई नगरपालिकाको वडामा मेलमिलाप समिति सक्रिय भएसँगै नगरको न्यायिक समितिमा मुद्दा चाप घटेको हो भने न्याय सम्पादन सहज बनेको हो । “वडाका मेलमिलापकर्तालाई तालिम दिएर अब्बल बनाएका छौँ”, नगरपालिकाकी उपप्रमुख एवं न्यायिक समिति संयोजक आशा शर्मा शिवाकोटीले भनिन्, “यसले वडामै विवाद मिल्न थालेको छ, नगरसम्म आउनुपर्ने बाध्यता हटेको छ ।”

 

न्याय माग्न आउने नगरवासीलाई आर्थिक बोझ घटेको उनले जानकारी दिइन् । “९ नम्बर वडाबाट टेम्पोमा आउँदा रु दुई सय जाँदा रु दुई सय लाग्छ”, उनले भनिन्, “वडामै विवाद मिल्दा आर्थिक अवस्था कमजोर भएका वडाबासिलाई सहज भएको छ ।” चालु आर्थिक वर्ष २०८१/८२ को हालसम्म १२ वटा नयाँ मुद्दा नगरको न्यायिक समितिमा दर्ता भएका छन् भने आव २०८०/८१ को पाँच वटा मुद्दा सरेर आएको थियो । नयाँ पुराना गरी १४ मुद्दा फछ्र्योट भएको गरिएको छ ।

 

नगरमा दर्ता हुने मुद्दा अधिकांश मुद्दा लेनदेन र जग्गा विवादका रहेका छन् । न्यायिक समितिमा दर्ता भएका सात लेनदेनका मुद्दामध्ये पाँच वटा फछ्र्योट भएका छन् भने दुई वटा फछ्र्योट हुन सकेका छैनन् । “आफन्तभित्रै लेनदेनको मुद्दा धेरै छ”, उनले भनिन्, “नगरमा ऐलानी जग्गा धेरै भएकाले पनि सीमा विवाद धेरै आउने गरेको छ ।”

 

हरेक साताको बिहीबार र शुक्रबार न्यायिक समितिले इजलासमा मुद्दा हेर्ने गरेको छ । गत दुई सातादेखि न्यायिक समितिमा नयाँ मुद्दा दर्ता भएका छैनन् । मुद्दा नभएको समयमा वडामा गएर मेलमिलाप समितिको अनुगमन गर्ने गरिएको उपप्रमुख शिवाकोटीले बताइन् ।

 

न्यायिक समितिले मुद्दा हेर्दा राजनीतिक दबाब, नातावाद, कृपावाद नहेरी स्वतन्त्र रुपमा न्याय सम्पादन गर्ने गरेको उनले बताइन्। “अप्ठ्यारा खाल र न्यायिक समितिबाट नसक्ने खालका मुद्दा आए अदालतमा पठाउने गरेका छौँ”, उनले भनिन् ।

 

मेलमिलाप समितिलाई वर्ष दुई पटक तालिम दिनुका साथै मेलमिलाप समितिलाई चुस्त दुरुस्त बनाउन अन्य पालिकाले गरेका राम्रा कामको अनुगमन गराएर अभ्यास गराउने गरिएको न्यायिक समितिका कानुन अधिकृत भूपेन्द्र बस्नेलले बताए । गत आव २०८०/८१ मा न्यायिक समितिमा २४ मुद्दा दर्ता भएकामा १९ वटा फस्र्यौट भएको उनले जानकारी दिए। कनकाई नगरपालिका–३, ५ र ८  वडाबाट मुद्दा धेरै आउने गरेका उनले बताए ।