सभामुख घिमिरेसहित नेपाली प्रतिनिधिमण्डल उज्वेकिस्तान प्रस्थान


काठमाडौं । सभामुख देवराज घिमिरेसहित नेपाली प्रतिनिधिमण्डल उज्वेकिस्तान प्रस्थान गरेको छ । सभामुख घिमिरेसहितको टोली अन्तरव्यवस्थापिका सङ्घको १५०औँ वार्षिकसभा तथा असंलग्न आन्दोलन संसदीय सञ्जालको चौंथो शिखर सम्मेलनमा सहभागी हुन शुक्रबार उज्वेकिस्तान प्रस्थान गरेको हो ।
प्रतिनिधिमण्डलमा सांसद श्यामकुमार घिमिरे, अञ्जान शाक्य, सूर्यमान दोङ तामाङ, सोविता गौतम, सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय, प्रतिनिधिसभा सचिव हर्कराज राईलगायत सहभागी छन् ।
अन्तरव्यवस्थापिका सङ्घको वार्षिकसभा र असंलग्न सञ्जालको चौथो शिखर सम्मेलन यही चैत २३ देखि २७ गतेसम्म उज्वेकिस्तानको राजधानी ताश्केन्टमा हुँदैछ । सङ्घको सभामा सभामुख घिमिरेले ‘सामाजिक विकास र न्यायका लागि संसदीय कदमहरू’ विषयमा सम्बोधन गर्ने तथा सांसद घिमिरे र तामाङ सङ्घका स्थायी समितिको बैठकमा सहभागी हुने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।