Ad Image

गोरखाको भीमसेनथापा गाउँपालिकामा पातपतिंगर सकंलन गर्नुस्, पैसा कमाउनुहोस् !

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1743952178.jpg

गोरखा । देशैभर वन जंगलमा डढेलो लागिरहेका घटना सार्वजनिक भइरहेका बेला गोरखाको भीमसेनथापा गाउँपालिकाले भने डढेलो नियन्त्रणका लागि ‘पातपतिङ्गर संकलन’ कार्यक्रम लागू गरेको छ । कार्यक्रमअन्तर्गत पालिकाले पतिङ्गर संकलन गरेबापत नगद पुरस्कार दिने घोषणा गरेको छ । 

 

पालिकाभित्रका सामुदायिक वनबाट पातपतिङ्गर संकलन गर्नेलाई प्रतिकेजी रु दुईका दरले नगद उपलब्ध गराउने निर्णय भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले जानकारी दिए । उनका अनुसार व्यक्ति तथा समूहले सम्बन्धित सामुदायिक वन उपभोक्ता समिति तथा वडा कार्यालयसँग समन्वय गरेर पतिङ्गर संकलन गर्न पाउने छन् । गाउँपालिकाभित्र डढेलो लगाउने कार्य निरुत्साहन तथा वन डढेलो नियन्त्रण गर्ने उद्देश्यसहित कार्यक्रम लागू गरिएको अधिकारीले जानकारी दिए । 

 

“संकलित पातपतिङ्गर प्राङ्गरिक मल बनाउन प्रयोग हुन्छ । त्यसको व्यवस्थापन तथा बिक्री वितरणको जिम्मा भने सम्बन्धित सामुदायिक वन तथा वडा कार्यालयलाई दिइनेछ”, उनले भने, “कार्यक्रम नयाँ हो तर यसलाई सबैजनाले सिको गर्न लायक बनाउने लक्ष्य छ ।” पालिकाबाट अनुगमन गरेपछि मात्र पतिङ्गर संकलन बापतको रकम उपलब्ध गराइने प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए ।  

 

कार्यक्रमले वन डढेलो नियन्त्रण गर्नुका साथै सामुदायिक वनको आयआर्जन बढाउन पनि सहयोग पु¥याउने विश्वास गरिएको छ । हाल गाउँपालिकाका अधिकांश वनजंगलमा धमाधम पतिङ्गर संकलन गर्ने काम भइरहेको गाउँपालिकाले जनाएको छ ।