काठमाडौं विश्वकै प्रदूषित शहरको सूचीमा आज पनि दोस्रो


२५ चैत, काठमाडौं । काठमाडौं उपत्यका आज पनि वायु प्रदूषण हुने शहरहरुको सूचीमा विश्वकै दोस्रो स्थानमा छ । विश्वभरको वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार आज बिहान काठमाडौं उपत्यकाको औसत ‘एयर क्वालिटी इन्डेक्स’ (एक्युआई) २११ रहेको छ । आइक्यू एअरले गरेको मापनअनुसार पहिलो नम्बरमा रहेको भारत दिल्लीको एक्युआई ३२३ छ ।
गत मंगलबार र शुक्रबार भने विश्वकै प्रदूषित शहरहरुको सूचीमा काठमाडौं पहिलो नम्बरमा थियो । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार मानव स्वास्थ्यका लागि वायुको गुणस्तर सूचकाङ्क ० देखि ५० सम्म स्वास्थ्यको लागि राम्रो मानिन्छ ।
यस्तै, ५१ देखि १०० मध्यम, १०१ देखि १५० सम्म हुँदा संवेदनशील समूहको लागि अस्वस्थ, २०१ देखि ३०० सम्म निकै अस्वस्थ, ३०१ भन्दामाथि स्वास्थ्यको लागि खतरनाक तह मानिन्छ । लामो समयदेखि पानी नपर्दा र वन जङ्गलमा डढेलो लागिरहेका कारण वायु प्रदूषण बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।