अलपत्र रहेको विधेयकहरू छिट्टै पारित हुन्छन् : मन्त्री गुप्ता


पर्सा । शिक्षक तथा संघीय निजामती ऐन विधेयक चाँडै पारित हुनेमा विश्वस्त हुन सबैलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले आग्रह गरेका छन् । करिब एक दशकदेखि अलपत्र रहेका यी विधेयकहरूमा लगभग १८०० उपदफा अनुसार छलफल भइसकेको पनि मन्त्री गुप्ताले जानकारी दिए ।
नेपाल राष्ट्रिय शिक्षक संगठन पर्साको १४औं अधिवेशनको उद्घाटन गर्दै मन्त्री गुप्ताले आगामी १२ गतेदेखि सुरु हुने संसदमा ती तीनवटा विधेयक पारित हुने प्रतिवद्धता व्यक्त गरे ।
साथै, नेपाल प्रहरीसँग सम्बन्धित विधेयक पनि प्रस्तुत हुने उनको भनाइ छ । सरकारले ती तीनवटै विधेयक बहुमतले पारित गर्नेमा आफू पनि आशावादी रहेको मन्त्री गुप्ताले बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुप्ताले विभिन्न प्रतिक्रियावादी शक्तिहरू सक्रिय भईरहेकोले नेपाली जनताले त्यस्ता तत्वहरूलाई रोक्ने चेतावनी पनि दिए ।
मन्त्री गुप्ताले देशमा अहिले गलत प्रचार फैलिएको बताए । उनले भने, "जो राजाले आफ्नो परिवार बचाउन सकेन, उसले देश कसरी बचाउँछ ?" र उनले गणतन्त्रको विकल्प नहुने पनि स्पष्ट पारे ।
सामन्तवादीको आडमा अडिएको राजतन्त्र हटाएर जनताले लोकतन्त्र ल्याएको इतिहासको स्मरण गराउँदै मन्त्री गुप्ताले राजाको नाममा मैदानमा उत्रिने नेताहरू लोकतन्त्र विरोधी भएको उल्लेख गरे ।
मन्त्री गुप्ताले भने, "कुशले बनेका राजा बोकेर हिँड्नु नैतिकताले सुहाउँदैन ।" राजदरबार हत्याकाण्डपछि राजकुमार दीपेन्द्रको निधनसँगै नेपालमा राजवंशीय सत्ता विधिवत् रूपमा समाप्त भएको उनले दाबी गरे ।