शिक्षक आन्दोलनका विषयमा प्रधानमन्त्रीले गरे मन्त्री र सचिवहरुसँग छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षक आन्दोलनका विषयमा सम्बन्धित मन्त्री र सचिवहरुसँग छलफल गरेका छन् । प्रधानमन्त्रीले आज उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, मुख्यसचिव एकनारायण अर्याल र सम्बन्धित मन्त्रालयका सचिवसँग छलफल गरेका हुन् ।
छलफलमा शिक्षा मन्त्रालयका तर्फबाट नेपाल शिक्षक महासङ्घको आह्वानमा काठमाडौंमा जारी शिक्षक आन्दोलनमा उठाइएका मागबारे जानकारी गराइएको छ । बैठकमा शिक्षकहरुको माग र आन्दोलनका विषयमा थप गृहकार्य गरी वार्ताबाट समस्याको समाधान गर्नुपर्नेमा समेत जोड दिइएको छ।
बैठकमा विद्यमान आर्थिक अवस्था, विद्यालय शिक्षाको कानुन निर्माणको प्रक्रिया र सरकारले तत्काल पूरा गर्न सक्ने माग र गुणस्तरीय शिक्षाको सुनिश्चितता आदि विषयमा समेत छलफल भएको बताइएको छ ।