शिक्षा विधेयक तत्काल पारित गर्न गाउँपालिका र नगरपालिका संघको माग


काठमाडौं । काठमाडौंमा जारी शिक्षकहरूको आन्दोलनमा गाउँपालिका राष्ट्रिय महासंघ र नेपाल नगरपालिका संघले ऐक्यबद्धता जनाएका छन् । नेपाल नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगाना र गाउँपालिका राष्ट्रिय महासंघ, नेपालकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले संयुक्त विज्ञप्ति जारी गर्दै संसदमा विचाराधीन शिक्षा विधेयक यथाशक्य पारित गर्न सरकारसँग माग गरेको छ ।
उनीहरूले शिक्षकहरूको आन्दोलनको समाधानका लागि अनुकूल वातावरण सिर्जना गर्न सरकारसँग अपिल गरेका छन् । ‘संविधानले माध्यमिक तहसम्म विद्यालय शिक्षा स्थानीय सरकारको दायित्व रहेको पुनः स्मरण गराउँदै विगतमा संविधानका व्यवस्थालाई बेवास्ता गरी गरिएका कतिपय सम्झौता र समझदारी नै समस्याको कारक भएको हाम्रो निष्कर्ष छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।
