Ad Image

१५ गतेको आन्दोलनमा प्रधानमन्त्रीको निर्देशनमा युवा संगठनको घुसपेठ भएको लिङ्देनको आरोप

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1744115703.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले गत चैत्र १५ गतेको राजावादी आन्दोलनलाई प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा हिंसात्मक बनाइएको आरोप लगाएका छन् । राप्रपाको आज (मंगलबार) को खबरदारी सभामा बोल्दै अध्यक्ष लिङ्देनले प्रधानमन्त्री ओलीले युवा संगठन लगाएर आन्दोलनमा घुसपेठ गरेको आरोप लगाएका हुन् ।

 

उनले आन्दोलनमा एकीकृत समाजवादी पार्टीको कार्यालय तोडफोड गर्ने, माओवादीको कार्यालयमा ढुंगा हान्ने राजावादी प्रदर्शनकारी नभएको दाबी गरेका छन् ।

 

अध्यक्ष लिङदेनले प्रस्न गर्दै भने, ‘समाजवादी पार्टी अफिसमा ढुंगा हान्ने राजावादी हुन ? प्रदर्शनकारी हुन् ? माओवादीको अफिसमा ढुंगा हान्ने राजावादी हुन् ? अघिल्लो दिन प्रधानमन्त्रीले युवा संगठनलाई बोलाएर के निर्देशन दिएको थियो हामीले सुनेको छैन । एमालेको अफिसमा बिहानै सुरक्षाको व्यवस्था किन गरियो ? समाजवादीकोमा किन भएन ? राज्यका तर्फबाट कुन आतंक सिर्जना भएको छ सिंगो देशले देखेको छ ।’

 

त्यसैगरी अध्यक्ष लिङ्देनले प्रहरी प्रमुख समेत एमालेको भएको आरोप लगाएका छन् । उनले प्रहरीलाई नै किचौंला झैं गरेर गएका दुर्गा प्रसाईंलाई नसमाएर मञ्चमा भाषण गरिरहेका नेतामाथि अश्रु ग्यास प्रहार गरेर के गर्न खोजेको भन्दै प्रहरी प्रशासन र प्रधानमन्त्रीमाथि प्रश्न समेत गरेका छन् ।

 

उनले चैत १५ गतेको घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग समेत गरेका छन् । अध्यक्ष लिङ्देनले आफूहरुको अभियानमा भ्रम फैलिएको भन्दै आफूहरुले सक्रिय राजसंस्थाको कुरा नगरेको बताए । उनले भने, ‘हामीले सक्रिय राजसंस्थाको कुरा गरेको होइन् । संवैधानिक राजतन्त्र अर्थात अभिभावकीय भुमिकामा राज चाहिन्छ भनेका हौं । प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, प्रदेश खारेज र बलियो स्थानीय तहसहितको व्यवस्थाको माग गरेका हौं।’