Ad Image

कांग्रेस कहाँनेर चुक्यो भनेर समीक्षा गर्नुपर्छ : शेखर कोइराला

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1744118606.jpg

चितवन । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीभित्र आन्तरिक समीक्षाको जरुरी रहेको बताएका छन् । नेपाली कांग्रेस चितवनले आज आयोजना गरेको ३५ औँ जनआन्दोलन दिवसको सन्दर्भ तथा नयाँ वर्ष २०८२ को शुभकामनासहित कांग्रेस नेता ‘भीमबहादुर श्रेष्ठको जीवन सङ्घर्ष र अनुभूतिहरु’ पुस्तक विमोचन तथा भित्तेपात्रो लोकार्पण गर्दै उनले काँग्रेसभित्रको समीक्षा हुन नसक्दा लक्ष्यमा पुग्न कठिन भएको बताए ।

 

उनले भने, “वि.सं २०६२/०६३ को जनआन्दोलन पछिका वर्षहरूमा कांग्रेस कहाँनेर चुक्यो भन्ने कुराको समीक्षा जरुरी छ ।” उनले भने, “हामीले राम्रा काम पनि गरेका छौँ तर नराम्रा कामहरुको समीक्षा गरेर अघि बढ्न सके लक्ष्यमा पुग्न सकिन्छ ।” कांग्रेस कमजोर हुँदा लोकतन्त्र कमजोर भएको बताउँदै उनले कांग्रेसलाई बलियो बनाउन गुटको अन्त्य आवश्यक रहेको बताए । उनले भने, “कांग्रेसलाई बलियो बनाउने हो भने चिया पसलमा बसेर कांग्रेसको खुट्टा तान्ने काम नगरौँ । पार्टीलाई बलियो बनाउने काम गरौँ ।”

 

अहिले दिनहुँ जनता सडकमा आउनुपर्ने बाध्यताको अन्त्य गर्न सकेमा मात्र सरकारमा भएको अनुभूति हुने उनको भनाइ थियो । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउद, गोविन्द भट्टराई, टेकप्रसाद गुरुङ, दिनेश कोइरालालगायतले जनतालाई बलियो बनाउन लोकतन्त्र बलियो बन्नुपर्नेमा जोड दिए । 

 

सो अवसरमा नेपाली कांग्रेस चितवनका पूर्वसभापति कृष्णलाल सापकोटा, नेपाली कांग्रेसका नेता मिलनबाबु श्रेष्ठ, जिल्ला सभापति राजेश्वर खनालले भीमबहादुर श्रेष्ठको योगदानका बारेमा चर्चा गरेका थिए ।