योजना खरिदबिक्री गरेर कमिसन उठाएको समाचारको मन्त्री साहले गरे खण्डन

काठमाडौं । मधेश सरकारका मन्त्रीहरूले बिचौलिया मार्फत कमिसन लिएर योजना खरिदबिक्री गर्ने गरेको समाचारको वन तथा वातावरण मन्त्री त्रिभुवन साहको सचिवालयले खण्डन गरेको छ ।
गत आइतबार मेयरसाप डटकममा ‘मधेशमा मन्त्रीहरूले योजना खरिदबिक्री गरेर लिन्छन् १० देखि १५ प्रतिशतसम्म कमिसन !’ शीर्षकमा समाचार प्रकाशन तथा प्रसारण भएको थियो ।
उक्त समाचारको प्रभावले समस्यामा परेपछि मंगलबार एक विज्ञप्ति जारी गरी सचिवालयले विकास योजनाहरुमा कमिसन उठाएको भनि मन्त्री साहको नाम जोडेर आएको समाचार आधारहीन, भ्रामक र पूर्ण रुपमा कपोलकल्पित भएको बताएको छ ।
सिरहाको मिर्चैया नगरपालिकाको वडा नंं ११ स्थित घुर्मि खोलामा तटबन्धका लागि योजनाको समिति बनाउन हालसम्म सम्बन्धित वडा कार्यालयमा पूर्वाधार विकास कार्यालय, सिरहाले कुनै पनि किसिमको चिठी नपठाएको दावी गरिएको छ ।
वडा कार्यालयबाट उक्त योजना सँग सम्बन्धित कुनै पनि उपभोक्ता समिति गठन नभएकोले योजनाको विक्री तथा कमिसनको कुरै उठ्दैन, विज्ञप्तिमा उल्लेख छ । केही व्यक्तिहरूले मन्त्री साहको चरित्र हत्या गर्ने प्रपञ्चका साथ यी र यस्ता भ्रामक समाचारहरू प्रकाशन तथा प्रशारण गरेको भन्दै आरोपहरू प्रमाणित भएमा जुनसुकै किसिमको कारवाही भोग्न तयार रहेको बताइएको छ ।
