पाणिनी तपोभूमि सम्मेलनको उद्घाटन गर्न प्रधानमन्त्री ओली अर्घाखाँची जाँदै


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बुधबार अर्घाखाँची जाँदैछन् । प्रधानमन्त्री ओली आज बिहान साढे ११ बजे हेलिकप्टरबाट अर्घाखाँचीको पाणिनी जाने भएका हुन् ।
अर्घाखाँचीको पाणिनी तपोभूमि सम्मेलनको उद्घाटनका लागि प्रधानमन्त्री पाणिनी जाने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।
लुम्बिनी प्रदेश सरकारको उद्योग पर्यटन तथा यातायात मन्त्रालय, पर्यटन विकास परिषद् र पाणिनी गाउँपालिकाको सहकार्यमा सम्मेलन हुन लागेको छ । संस्कृत भाषा व्याकरणको उत्पत्ति भएको पुण्य तपोभूमिलाई विश्वसामु चिनाउन सम्मेलन गरेको गाउँपालिकाले जनाएको छ ।
सम्मेलनको उद्घाटन कार्यक्रम सकेर प्रधानमन्त्री ओली काठमाडौंमा नेपाल चेम्बर अफ कमर्शको ७४ औं वार्षिक साधारणसभाको उद्घाटन गर्न फर्किने कार्यतालिका रहेको समेत प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।