Ad Image

तुलनात्मक लाभका वस्तु र प्रतिस्पर्धी क्षमता विस्तारमा जोड दिनुपर्छ : परराष्ट्रमन्त्री राणा

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1744297580.jpg

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले सम्पूर्ण सरकार देशको समग्र आर्थिक विकास र समृद्धिका लागि क्रियाशील रहेको बताएकी छन् ।


नेपाल उद्योग वाणिज्य महासंघको ५९औँ वार्षिक साधारण सभा तथा उद्योग दिवस २०८१ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले आर्थिक विकासको प्रमुख आधार निजी क्षेत्र भएको स्पष्ट पारिन् । निजी क्षेत्रको सक्रियता र सहभागिताबाट मात्र आर्थिक समृद्धि सम्भव हुने उनको भनाइ थियो ।


परराष्ट्रमन्त्री राणाले भनिन्, “यदि निजी क्षेत्रले लगानी विस्तार गरेन भने समृद्धिको लक्ष्य हासिल गर्न सकिँदैन । सरकार विभिन्न नीतिगत तथा कानुनी जटिलता हटाएर निजी क्षेत्रलाई सहजीकरण गर्न तल्लीन छ । त्यसैले अब निजी क्षेत्रले निर्धक्क भएर लगानी गर्नुपर्छ ।”


उनले थप भनिन्, “आर्थिक विकास र समृद्धिमा अवरोधका रूपमा रहेको राजनीतिक अस्थिरता हटाउने उद्देश्यले नै वर्तमान सरकार गठन भएको हो । सरकार गठन भएदेखि नै समृद्धिका मार्गमा रहेका कानुनी तथा नीतिगत अड्चनहरू हटाउने प्रक्रिया अगाडि बढाइएको छ । अब निजी क्षेत्रले बिना हिचकिचाहट लगानी बढाउनुपर्छ, किनभने अर्थतन्त्रको गाडी निजी क्षेत्रकै इन्धनमा चल्ने हो ।”


मन्त्री राणाले औद्योगिक विकासलाई आर्थिक समृद्धिको आधार मानेर नेपालको तुलनात्मक लाभ भएका तथा प्रतिस्पर्धी क्षमता भएका वस्तु र सेवाको उत्पादन, उत्पादकत्व र निर्यात वृद्धि गर्ने उद्देश्यका साथ काम गर्नुपर्ने आवश्यकता औँल्याइन् ।


त्यस्तै, हाल केही हदसम्म वैदेशिक सहायता घटेको भए पनि निजी क्षेत्र निराश नहुन उनले आग्रह गरिन् ।


सरकार र निजी क्षेत्र मिलेर मुलुकभित्रका स्रोत र साधनको अधिकतम उपयोग गरी विकासको गति तीव्र बनाउनेतर्फ केन्द्रित हुनुपर्नेमा पनि मन्त्री राणाले जोड दिइन् ।