दुर्गा प्रसाईंलाई काठमाडौँ ल्याइँदै, समर्थकको भीड बढेकाले काँकडभिट्टाबाट नल्याइने


काठमाडौं । गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईंलाई आज काठमाडौं ल्याउन लागिएको छ । भारतको आसामबाट पक्राउ परेका प्रसाईंलाई भारतीय प्रहरीको सहयोगमा काठमाडौं ल्याउन लागिएको सुरक्षा स्रोतले जनाएको छ ।
प्रसाईँ आउने चर्चासँगै झापाको काँकडभिट्टा नाकामा समर्थकहरू भेला भएका छन् । त्यहाँ उनका समर्थकहरूले अवरोध गर्ने सुरक्षा विश्लेषणको आधारमा नाका परिवर्तन गरेर उनलाई भद्रपुर विमानस्थल हुँदै काठमाडौँ ल्याउने प्रहरीको तयारी छ ।
राजसंस्था पुनर्स्थापनाका लागि भन्दै गठन गरिएको संयुक्त जनआन्दोलन परिचालन समितिका प्रवक्ता स्वागत नेपालका अनुसार प्रहरीले काँकडभिट्टा नाका छलेर भद्रपुरतर्फको गलगलिया नाकाबाट नेपाल ल्याउने तयारी गरेको छ ।
उनले फेसबुकमा लेखेका छन्, ‘अहिले देशभक्त नागरिकहरु, पत्रकार र मानवअधिकारकर्मीहरु समेत मेचीपुल काकरभिट्टामा पुगेको कारण प्रहरीले काकरभिट्टा नाका छलेर भद्रपुरतर्फको गलगलिया नाकाबाट नेपाल ल्याउने तयारी गरेको पनि अधिकारकर्मीहरुमार्फत बुझिएको छ। दुर्गा प्रसाईंलाई अधिकारकर्मी र पत्रकारहरुको रोहवरमा नेपाल प्रवेश गराइयोस् । अन्यथा नहोस् ।’ यही चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीहरुले गरेको हिंसात्मक प्रदर्शनपछि प्रसाईं फरार भएका थिए ।