Ad Image

गुल्मीमा स्वास्थ्य बीमाप्रति नागरिकको आकर्षण: रेसुङ्गा नगरपालिकाका २३ हजार बढीले गराए बीमा

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1744357665.jpg

गुल्मी । सामाजिक सुरक्षाअन्तर्गत सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रमप्रति जिल्लाका नागरिकको आकर्षण बढ्दै गएको छ । स्वास्थ्य उपचारमा सहज पहुँच स्थापित गराउने उद्देश्यले सुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रमबाट जिल्लाका ४८.६ प्रतिशत नागरिकले सेवा लिएका छन् ।

 

सर्वसाधारणलाई गुणस्तरीय उपचार प्रदान गरी स्वास्थ्य सेवाको सुनिश्चित गर्ने लक्ष्यका साथ जिल्लामा विसं २०७६ माघ १९ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम सुरु गरिएको थियो । बाह्र पालिका रहेको जिल्लामा विसं २०७८ को जनगणना अनुसार दुई लाख ४६ हजार ८३६ जनसङ्ख्या छ ।

 

हालसम्म जिल्लाका एक लाख १९ हजार ९५४ जनाले स्वास्थ्य बीमा गराएका जिल्लास्थित स्वास्थ्य बीमा बोर्डका संयोजक सुवास घिमिरेले जानकारी दिए । सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रमको महत्व र प्रभावकारिता नागरिकले बुझ्न थालेपछि बीमा गर्नेको सङ्ख्या बढिरहेको उनले बताए ।

 

घिमिरेका अनुसार जिल्लामा सबैभन्दा बढी रेसुङ्गा नगरपालिकाका २३ हजार ३९ र सबैभन्दा कम मदानेका तीन हजार ३६० नागरिकले स्वास्थ्य बीमा गराएका छन् ।

 

सरकारले ज्येष्ठ नागरिक, एचआइभी सङ्क्रमित, कुष्ठरोगी र जटिल खालका क्षयरोगीको निःशुल्क स्वास्थ्य बीमा गरिदिने गरेको संयोजक घिमिरेले बताए ।