कोदोखेती प्रवर्द्धन गर्न बैतडीको शिवनाथ गाउँपालिकाले किसानलाई अनुदान दिने


बैतडी । बैतडीको शिवनाथ गाउँपालिकाले कोदोखेती प्रवर्द्धन गर्न किसानलाई चार लाख अनुदान दिने भएको छ । गाउँपालिकामा पछिल्लो समय कोदोखेती घट्न थालेपछि किसानलाई अनुदान दिएर खेती प्रवर्द्धन गर्न लागिएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउदले बताए ।
कोदोखेती प्रवर्द्धनका लागि प्रदेश सरकारबाट गाउँपालिकालाई चार लाख बजेट प्राप्त भएपछि सूचना जारी गरेर किसानबाट आवेदन माग गरिएको प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह महतले बताए । कोदोखेती गर्ने किसानले प्रतिरोपनी ७०० का दरले अनुदान पाउने छन् ।
गाउँपालिकाले यसअघि गर्भवती आमाहरूलाई कोसेलीका रूपमा कोदोको पिठो दिने निर्णय गरेको थियो । कोदो लगाउने चलन हराउँदै जान थालेपछि किसानलाई उत्प्रेरणा दिन कोदोमा अनुदान कार्यक्रम सुरु भएको गाउँपालिका अध्यक्ष साउदले बताए ।
उनले पालिकाभित्रका विद्यालयमा दिवा खाजाका रूपमा विद्यार्थीलाई कोदोका परिकार बनाएर खुवाउने निर्णय भएको समेत जानकारी दिए । आधुनिकतासँगै गाउँमा विभिन्न कम्पन्नीले उत्पादन गरेको चामल, चाउचाउ र चाउमिन भित्रिएपछि खानपिनमा परिवर्तन आएको छ ।
कोदो स्वास्थ्यका लागि पनि निकै लाभदायक खाद्यान्न रहेको स्वास्थ्यकर्मीले बताएका छन् । प्रशस्त मात्रामा पौष्टिक तत्व पाइने कोदोको प्रयोगले विभिन्न रोगसँग लड्ने प्रतिरोधात्मक शक्तिको विकास हुने गरेको छ । यसका साथै कोदोमा फाइबर, प्रोटिन र खनिजजस्तै क्याल्सियम, आइरन र म्याग्नेसियमको मात्रा उच्च हुन्छ । यसले पाचन प्रणालीलाई सन्तुलित राख्न र ह्दय रोगको जोखिम कम गर्न मद्दत पुर्याउँछ । साथै, मधुमेह र उच्च रक्तचाप नियन्त्रणमा पनि कोदो उपयोगी मानिन्छ ।