Ad Image

हेटौंडाका सामुदायिक विद्यालयले अब ५ वर्षसम्म पोशाक परिवर्तन गर्न नपाउने

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1744603888.jpg

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाा भित्रका विद्यालयले अब ड्रेस कोड (पोशाक) ५ वर्षसम्म परिवर्तन गर्न नपाउने भएको छ ।  उपमहानगरपालिकाको आइतबार बसेको ६३ औं कार्यपालिका बैठकले विद्यार्थीको ड्रेसको रंग एकपटक निर्धारण भएपछि कम्तीमा ५ वर्षसम्म परिवर्तन गर्न नपाइने निर्णय गरेको उपमहानगरका प्रवक्ता सविन न्यौपानेले जानकारी दिए ।

 

सकभर नेपाली उत्पादनलाई जोड दिने र एक विद्यालयमा अंग्रेजी तथा नेपाली भाषामा अध्यापन गरेको भएता पनि एकै प्रकारको मात्र ड्रेस कोड प्रयोग गर्नु पर्ने उनले बताए ।  यसैगरी नगरभित्रका अंग्रेजी माध्यमबाट पढाइ हुने सामुदायिक विद्यालयमा सरकारी प्रकाशनका अंग्रेजी पुस्तक मात्र लागू गर्न निर्देशन दिएको छ ।  

 

हेटौंडाका भुटनदेवी मावि, आधुनिक राष्ट्रिय मावि, बालज्योति, सिद्धार्थ, प्रगति, श्रमिक, वंशगोपाल, त्रिभुवन, जनप्रिय, ज्योति माविलगायतका एक दर्जन विद्यालयले अंग्रेजी माध्यममा पढाउँदै आएका छन् ।

 

बैठकले शिक्षक दरबन्दी मिलान तथा प्रधानाध्यापक व्यवस्थापनका लागि कार्यविधि बनाउने निर्णय पनि गरेको छ । कार्यविधिको मस्यौदा तर्जुमाका लागि कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

 

चालु आर्थिक वर्ष २०८१/८२ मा व्यवस्था गरिएको दुई वा दुईभन्दा बढी विद्यालय गाभिएका वा समायोजन भएका स्थानमा आवासीय विद्यालय संचालनका लागि अनुदान दिने निर्णय गरेको छ । जनप्रिय माध्यमिक विद्यालय हटियालाई ५ लाख र निर्मल मावि बस्तीपुरलाई ५ लाख अनुदान उपलब्ध गराइने प्रवक्ता न्यौपानेले जानकारी दिए ।

 

यसैगरी, चालु आवको २८ चैतसम्म उपमहानगरपालिकाले संघीय सरकार, प्रदेश सरकारबाट प्राप्त अनुदान र आन्तरिक स्रोत ५५.९८ प्रतिशत अर्थात् १ अर्ब ५९ करोड २२ लाख ५० हजार ५७२ रुपैयाँ आम्दानी गरिएको जनाएको छ । 

 

कार्यपालिका बैठकले समावेशीकरण नीति तर्जुमा तथा निर्माणका लागि सैद्धान्तिक सहमति प्रदान गर्ने, हेटौंडा उपमहानगरपालिका व्यावसायिक सीप विकास तालिम सञ्चालन कार्यविधि, २०८१ को पहिलो संशोधन स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।