Ad Image

बाल यौन दुरुपयोग मुद्दामा बम्जनलाई उच्च अदालतको सफाइ

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1744885744.jpeg

जनकपुर । उच्च अदालत जनकपुरले बाल यौन दुरुपयोगसम्बन्धी मुद्दामा रामबहादुर बम्जनलाई सफाइ दिएको छ ।

 

न्यायाधीशद्वय खेमराज भट्ट र नरिश्वर भण्डारीको संयुक्त इजलासले सर्लाही जिल्ला अदालतको फैसला उल्टाउँदै बम्जनलाई सफाइ दिने निर्णय गरेको हो । अदालतको उक्त निर्णयको पूर्णपाठ पनि सार्वजनिक भइसकेको छ ।

 

इजलासले गत चैत ६ गते नै रामबहादुर बम्जनसहित ज्ञानबहादुर र डिगबहादुर बम्जनलाई पनि सफाइ दिएको थियो । फैसलापछि उनीहरू सिन्धुपाल्चोक कारागारबाट मुक्त भएका छन् ।


"उच्च अदालत जनकपुरको फैसलाको पत्र सोही दिन राति प्राप्त भएको थियो । त्यसको भोलिपल्ट, चैत ७ गते बिहानै हामीले उनीहरूलाई रिहा गरेका थियौं," सिन्धुपाल्चोक कारागारका निमित्त प्रमुख निरजराम दनईले बताए ।

 

रामबहादुर बम्जन सिन्धुपाल्चोकमा आश्रम सञ्चालन गर्थे । रौतहटकी गंगामाया तामाङले आफू आश्रममा बस्दा बलात्कार भएको आरोप लगाउँदै २०७६ साल असोज २३ गते बम्जनविरुद्ध जाहेरी दिएकी थिइन् ।


बालबालिकासम्बन्धी ऐनअनुसार, बालिकावस्थामा भएको यौन शोषणका घटनाविरुद्ध पीडितले १८ वर्ष पुगेपछि उजुरी दिन सक्ने कानुनी व्यवस्था छ । गंगामायाले यही व्यवस्था अनुसार १८ वर्ष पुगेपछि जाहेरी दिएकी थिइन् ।


उनको दाबीअनुसार, २०७३ साल साउन २० गते बम्जनले उनलाई बलात्कार गरेका थिए । जाहेरीपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।


अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले बम्जनविरुद्ध १२ देखि १४ वर्षसम्म कैद सजाय र उचित क्षतिपूर्तिको माग गर्दै मुद्दा दायर गरेको थियो । बाँकी दुई आरोपितहरूविरुद्ध पनि कैद सजायको माग गरिएको थियो ।


सर्लाही जिल्ला अदालतले २०८१ साल असार १७ गतेको फैसलामा बम्जनलाई १० वर्ष कैद र ५ लाख रुपैयाँ जरिवाना तोकेको थियो भने डिगबहादुर र ज्ञानबहादुरलाई सफाइ दिएको थियो ।


तर, सरकारी वकिल कार्यालयले सो फैसलाबाट असन्तुष्टि जनाउँदै ती सबैलाई सजाय दिन माग गर्दै उच्च अदालतमा पुनरावेदन गरेको थियो । उता, बम्जनले पनि आफू निर्दोष भएको दाबी गर्दै फैसलाविरुद्ध उच्च अदालतमा रिट दायर गरेका थिए ।


२०८१ साल असोजमा दुवै पक्षबाट पुनरावेदन दर्ता भएको थियो । उच्च अदालतले मुद्दाको प्रारम्भिक प्रक्रियामै त्रुटि रहेको भन्दै जिल्ला अदालतको फैसला बदर गरेको हो ।


"हदम्यादबिहीन जाहेरीको आधारमा अनुसन्धान गरी दायर भएको अभियोगमा प्रतिवादीलाई दोषी ठहर गरिएको भन्दै जिल्ला अदालतको आदेश बदर गरिन्छ" फैसलामा उल्लेख छ ।


"अपराधी ठहर गरिएका पुनरावेदक प्रतिवादी रामबहादुर बम्जन उर्फ रामलाल बम्जनले समेत आरोपबाट सफाइ पाउने ठहर्छन् । वादी नेपाल सरकारको पुनरावेदन दाबी न्यायिक रुपमा अपुग देखिन्छ" फैसलामा भनिएको छ ।