Ad Image

शान्ति विद्या गृहलाई वडाबाट २० डिजिटल बोर्ड हस्तान्तरण, कम्प्युटर ल्याब निर्माणको तयारी

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1744892650.jpg

काठमाडौँ । काठमाडौँ महानगरपालिका–२६ ले लैनचौरस्थित शान्ति विद्या गृह माध्यमिक विद्यालयलाई २० वटा डिजिटल बोर्ड हस्तान्तरण गरेको छ।


बिहीबार विद्यालय प्रांगणमा आयोजित औपचारिक कार्यक्रममा वडाध्यक्ष ख्यामराज तिवारीले विद्यालयकी प्रधानाध्यापक शिवकुमारी बराल घिमिरेलाई ती बोर्डहरू हस्तान्तरण गरेका हुन् । हस्तान्तरण गरिएका सबै बोर्डहरू ६५ इञ्च आकारका रहेका छन् ।


वडाले सार्वजनिक खरिद प्रक्रियामार्फत करीब ४३ लाख ५९ हजार रुपैयाँ बराबरको डिजिटल सामग्री विद्यालयलाई प्रदान गरेको हो ।


“पूर्वाधार र प्रविधिमा लगानी गुणस्तरीय शिक्षाको जग हो,” वडाध्यक्ष तिवारीले भने, “शिक्षकहरू समयअनुसार परिवर्तनशील भई प्रविधिमा आधारित शिक्षण दक्षतामा वृद्धि गर्नुपर्छ । तालिम आवश्यक परे, महानगरले उपलब्ध गराउन सघाउनेछ ।”


उनका अनुसार विद्यालयमा करिब ४० लाख लागतमा नयाँ कम्प्युटर ल्याब निर्माणको प्रक्रिया पनि सार्वजनिक खरिदमार्फत अगाडि बढिरहेको छ । शान्ति विद्या गृहलाई नमूना विद्यालयको रुपमा विकास गर्न वडाले लगानी गर्दै आएको पनि उनले बताए ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश भण्डारीले शिक्षा गुणस्तर सुधारका लागि दीर्घकालीन दृष्टिकोण आवश्यक रहेको उल्लेख गर्दै भने, “आउँदो १० वर्षको आवश्यकतालाई मध्यनजर गर्दै अहिले नै प्रभावकारी कार्यक्रमहरू कार्यान्वयनमा ल्याउनुपर्छ ।”


वडाका सचिव केदार रिमालले महानगरको शिक्षा क्षेत्रमा स्थानीय प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न वडाले आफ्ना स्रोत–साधन जुटाएको जानकारी दिए ।


कार्यक्रमकै अवसरमा उमेर हदका कारण सेवानिवृत्त भएकी प्रधानाध्यापक शिवकुमारी बराल घिमिरेलाई बिदाइ गरिएको थियो । साथै विद्यालयका सहायक प्राचार्य विष्णुप्रसाद ढकाललाई निमित्त प्रधानाध्यापकको जिम्मेवारी दिइएको छ ।


शान्ति विद्या गृह माध्यमिक विद्यालयको स्थापना वि.सं. २००४ मा भएको हो ।