Ad Image

लागूऔषध मुक्त नाम्खा गाउँपालिका: लागूऔषध प्रयोग तथा बेचबिखन गर्नेलाई पालिकाले बहिष्कार गर्ने

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1744978872.jpg

ललितपुर । हुम्ला जिल्लाको नाम्खा गाउँपालिका लागूऔषध मुक्त पालिका घोषणा भएको छ । भौगोलिक रुपमा देशकै ठूलो नाम्खा गाउँपालिकालाई गत चैत २७ गते  लागूऔषध मुक्त पालिका घोषण गरिएको हो ।

 

नाम्खा गाउँपालिकालाई लागूऔषध मुक्त पालिका घोषणा गर्न पालिकाले लामो समयदेखि कार्ययोजना बनाएर काम गरेको थियो । पालिकाले बनाएको कार्ययोजना अनुसार गाउँपालिका र जिल्ला प्रशासन कार्यलयको समन्वयमा लागूऔषध मुक्त पालिका घोषणा गरेकाे पालिकाका उपाध्यक्ष तक्दिर लामाले बताए ।

 

पालिकाका अध्यक्ष प्रेम बहादुर लामाले लामो समयको जनप्रतिनिधिहरुको प्रयास र स्थानीयको साथले गाउँपालिकालाई लागूऔषध मुक्त बनाउन सम्भव भएको बताए । उनले अहिले पालिकाभित्रका ९० प्रतिशत मानिसले गाजाको बिरुवा समेत नचिन्ने दाबी गरेका छन् ।

 

‘यस पालिका लागूऔषधमा सून्य छ । यहाँ गाजा उत्पादन हुँदैन । बाटो तिर उम्रेका गाजाका बिरुवा समेत प्रयोगमा नआएपछि मासिँदै गएको छ ।’ पालिका अध्यक्ष लामाले भने, ‘अहिले यहाँका ९० प्रतिशत जनसमुदायले गाजाको बिरुवा समेत चिन्दैनन् । यहाँ लागूपदार्थ किनबेच तथा प्रयोगकर्ता अहिलेसम्म भेटिएका छैनन् । र लागूऔषध मुक्त घोषणा हुनुभन्दा धेरै अघि देखि नै यहाँ लागूऔषध सम्बन्धी मुद्दा समेत आउन छाडेको छ ।’

 

लागूऔषध मुक्त पालिका बनाउनका लागि पालिकाले वडा वडामा लागूऔषधका असर बारे जनचेता फैलाउने काम गर्दै आएको थियो । लागूपदार्थको जोखिममा रहेका किशोरकिशोरीलाई लक्षित चेतनामुलक कार्यक्रमहरु समेत पालिकाले सञ्चालन गर्दै आएको अध्यक्ष लामाले जानकारी दिए । पालिकाले विद्यालयहरुमा समेत लागूऔषधको असरका सम्बन्धमा जानकारी दिन विभिन्न किसिमका कार्यक्रमहरुको आयोजना गर्ने, यसबारे प्रचार गर्ने, चेतना फैलाउने लगायतका काम समेत गरेको थियो । पालिकालाई लागूऔषध मुक्त बनाउन स्थानीयको समेत ठूलो योगदान रहेको अध्यक्ष लामाले बताए ।

 

एक पटक लागूऔषध मुक्त घोषणा भएपछि फेरि यसको प्रयोगकर्ता नभेटिने सम्भावना शत प्रतिशत नभएको भन्दै लागूऔषध विरुद्धका कार्यक्रमलाई पालिकाले जारी राखेको छ । र लागूऔषधको प्रयोगकर्ता तथा बेचविखन गर्नेलाई राज्यबाट लागू गरिएका कानुनी व्यवस्थाका साथै पालिकाबाट बहिष्कार गर्ने लगायतका योजना रहेको पालिकाले जनाएको छ । अध्यक्ष लामाले भने, ‘लागूऔषध प्रयोगकर्ता तथा बेचविखन भएको थाहा भएमा कानुनी कार्बाही त हुन्छ नै हामीले त्यस्ता व्यक्तिलाई पालिका र समाजबाट बहिष्कार गर्ने नीति समेत लिएका छौं ।’ पालिकालाई लागूऔषध मुक्त कायम गर्न पालिकाले हरसम्भव प्रयास जारी राख्ने लामाको दाबी छ ।