विद्यार्थी भर्ना अभियान चलाउन पर्साका पालिका प्रमुखहरुकाे एकमत, वैशाख ८ गतेदेखि भर्ना अभियान सुरु हुने


वीरगंज । शिक्षकहरुको काठमाडौं केन्द्रित आन्दोलनबाट विद्यार्थी भर्ना अभियान प्रभावित नहोस् भन्ने उद्देश्यले पर्सा जिल्लाका सबै १४ पालिकाका प्रमुखहरु एकजुट भएका छन् ।
सरकारले वैशाख २ गतेदेखि सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना अभियान सुरु गर्ने निर्णय गरेको भए पनि आन्दोलनका कारण उक्त अभियान प्रभावित भएको छ । यसलाई सहज रुपमा अघि बढाउन अब पर्सा जिल्लाका सबै पालिकाले वैशाख ८ गतेदेखि १५ गतेसम्म विशेष भर्ना अभियान सञ्चालन गर्ने भएका छन् ।
यस विषयमा वीरगंज महानगरपालिका प्रमुख राजेशमान सिंहको कार्यकक्षमा पालिका प्रमुखहरुको बैठक बसेको थियो । बैठकले सम्बन्धित पालिकाका विद्यालयलाई तत्काल भर्ना अभियान सञ्चालन गर्न निर्देशन दिने निर्णय गरेको हो ।
बैठकमा बोल्दै पर्सागढी नगरपालिका प्रमुख गोकर्ण पाठकले विद्यालयमा ताला लागेका कारण विद्यार्थी पठनपाठनबाट वञ्चित हुनु दुःखद भएको भन्दै भर्ना अभियान तुरुन्त अघि बढाएर कक्षा सञ्चालन गर्नु आवश्यक रहेको बताए । उनले शिक्षकहरुले माग राख्ने अधिकार भए तापनि विद्यार्थीको पठनपाठन रोक्नु उचित नभएको तर्क गरे ।

त्यस्तै, जगरनाथपुर गाउँपालिका अध्यक्ष श्रीकान्त यादवले केही मागहरू संविधानविपरीत रहेको उल्लेख गर्दै तीबाहेकका मागप्रति आफूहरूको समर्थन रहेको स्पष्ट पारे।
ठोरी गाउँपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठले आन्दोलनका कारण विद्यार्थीहरु पठनपाठनबाट वञ्चित भए पनि दोष पालिकालाई जाने भएकाले अब सचेत भई विद्यालय सञ्चालनको उपाय खोज्न जरुरी रहेको बताए।
वीरगंज महानगर प्रमुख राजेशमान सिंहले संविधानले स्थानीय तहलाई आधारभूत तथा माध्यमिक तहसम्मको शिक्षा अधिकार दिएको स्मरण गराउँदै, भर्ना अभियान घर(घरमा पुगोस् भन्ने उद्देश्यले सबै पालिकाहरु एकजुट भएको बताए।
उनले विद्यालयलाई शान्तिक्षेत्र घोषणा गरिएको स्मरण गराउँदै, शिक्षकहरुकै आन्दोलनका कारण विद्यालय बन्द हुनु अन्यायपूर्ण भएको बताए । आन्दोलन परिमार्जन गरेर विद्यालय सञ्चालन हुने वातावरण बनाउनुपर्ने आवश्यकता पनि उनले औंल्याए ।
जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख हरि राउतले आन्दोलनमा प्रतिनिधिमूलक शिक्षकहरु मात्रै काठमाडौंमा उपस्थित रहेको र ६० प्रतिशतभन्दा बढी शिक्षक गाउँमै रहेकाले उनीहरु नै विद्यालय सञ्चालनमा सक्रिय भूमिका खेल्नुपर्ने बताए।
बैठकमा वीरगंज महानगर उपप्रमुख इम्तियाज आलम, पर्सागढी नगरपालिका प्रमुख गोकर्ण पाठक, पोखरिया नगरपालिका प्रमुख पधुम्न चौहान, बहुदरमाई नगरपालिका प्रमुख सिंगासन साह तेली, छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज कुमार, जगरनाथपुर गाउँपालिका अध्यक्ष श्रीकान्त यादव, ठोरी गाउँपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठ, विन्दवासिनी गाउँपालिका उपाध्यक्ष ज्योती देवी चौरसिया, र जिल्ला शिक्षा समन्वय इकाई प्रमुख हरि राउतसहित अन्य पालिकाका शिक्षा प्रमुखहरूको उपस्थिति रहेको थियो।