बंगलादेशमा हिन्दू अल्पसंख्यकमाथि अत्याचार,भारतको कडा चेतावनी


काठमाडौं । बंगलादेशका एक प्रमुख हिन्दू नेता भाबेशचन्द्र रायको अपहरणपछि हत्या गरिएको घटनालाई लिएर भारतले कडा प्रतिक्रिया दिएको छ ।
बंगलादेशको मोहम्मद युनुश सरकारमाथि भारतले अल्पसंख्यक समुदायको सुरक्षा गर्न असफल भएको आरोप लगाएको छ ।
उत्तरी बंगलादेशको दिनाजपुर जिल्लाका बासिन्दा भाबेशलाई गत बुधवार उनको घरबाटै केही मुस्लिम अतिवादीले अपहरण गरेका थिए । घाइते अवस्थामा घरमा फर्काइएको उनको केही क्षणमा मृत्यु भएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।
५८ वर्षीय हिन्दू नेता भाबेश चन्द्रलाई घरमै आएका केही व्यक्तिले अपहरण गरेका थिए । उनलाई साँझ गम्भीर घाइते अवस्थामा ल्याएर घरमा छाडिएको थियो । तत्कालै अस्पताल लगिएका उनलाई मृत घोषणा गरिएको थियो ।
भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले बंगलादेशमा हिन्दू अल्पसंख्यक नेता भाबेशको अपहरण र बर्बर हत्याको बारेमा ध्यानाकर्षण भएको भन्दै अन्तरिम सरकारको जवाफ मागेको छ ।
विदेश प्रवक्ताले भनेका छन्–यो हत्या त्यहाँको अन्तरिम सरकारको शासनकालमा बंगलादेशका हिन्दू अल्पसंख्यकमाथि भइरहेको व्यवस्थित उत्पीडनको सिलसिलामा रुपमा आएको छ । यसअघि पनि भएका यस्तै अपराधिक घटनामा जोडिएका अपराधीहरु सजायबाट मुक्ति पाइरहेका छन् । यो घटनाको हामी निन्दा गर्छौं र एकपटक फेरि बंगलादेशकको अन्तरिम सरकारलाई बहाना नबनाई र भेदभाव नगरी हिन्दूसहित सबै अल्पसंख्यकको सुरक्षा गर्ने आफ्नो जिम्मेवारी पूरा गरोस् ।
भारतले यसअघि पनि पटकपटक बंगलादेशलाई हिन्दू अल्पसंख्यकको जिउधनको सुरक्षाप्रति ध्यानाकर्षण गरारहेको छ । तर छिमेकमै भइरहेको हिन्दू अल्पसंख्यकमाथिको उत्पीडनबार नेपालले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।
प्रतिशतको हिसाबले विश्वकै सबैभन्दा धेरै ८४ प्रतिशतभन्दा बढी हिन्दू जनसंख्या रहेको नेपालको सरकारले बंगलादेशमा हिन्दूमाथि भइरहेका सिलसिलाबद्ध हत्या,बलात्कार र उत्पीडनका घटनामा एक शब्द पनि नबोलेकोमा आलोचना भइरहेको छ । यसबारेमा नेपालको सरकारको प्रतिक्रिया लिन खोज्दा परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्ण प्रसाद ढकाल सम्पर्कमा आउनै चाहेनन् ।