पब्लिक युथ क्याम्पसमा नेविसंघद्वारा तोडफोड, स्ववियु निर्वाचन प्रभावित


काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) का नेताहरुले पब्लिक युथ क्याम्पसमा तोडफोड गरेको घटना सार्वजनिक भएको छ । क्याम्पसमा स्ववियु निर्वाचनको पूर्वसन्ध्यामा भएको यो घटनाले वातावरण तनाबपूर्ण बनेको छ ।
क्याम्पसमा भोलि स्ववियु निर्वाचन हुने तय गरिएको थियो । तर, उम्मेदवार मनोनयनको तयारी भइरहेका बेला नेविसंघका केही नेताहरुले क्याम्पसमा तोडफोड गरेका छन् ।
सिसिटिभी फुटेजमा नेविसंघका नेता सन्तोष श्रेष्ठ (पब्लिक युथ क्याम्पस इकाइ सभापति) र एकाइ सदस्य रोहित गुरुङ कार्यालयको कोठामा प्रवेश गरी सुरुमा सिसिटिभी क्यामेरा हटाउने प्रयास गर्दै गरेको देखिन्छ। त्यसपछि उनीहरुले कार्यालयका अन्य सामग्री तोडफोड गरेका छन्।
यस घटनालाई लिएर अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले निर्वाचन भाँड्न नियोजितरुपमा तोडफोड गरिएको आरोप लगाएको छ । अनेरास्ववियुले दोषीहरुमाथि कडा कार्बाहीको मागसमेत गरेको छ ।