ठमेलमा प्रहरी कुट्ने अस्कलका स्ववियु सचिव प्रहरी जवानको नक्कली परीक्षार्थी


काठमाडौं । काठमाडौंस्थित अमृत साइन्स क्याम्पस (अस्कल) का स्ववियु सचिव गोपालबहादुर शाही नक्कली परीक्षार्थी बनेर प्रहरी जवानको परीक्षा दिइरहेको अवस्थामा पक्राउ परेका छन् ।
उनलाई आइतबार पक्राउ गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंको एसपी अपील राज बोहोराले जानकारी दिए । शाहीलाई नयाँ बानेश्वरस्थित रत्नराज्य माविमा चलिरहेको प्रहरी जवान पदको लिखित परीक्षामा सहभागी हुँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
उनी कालिकोटको शुभकालिका गाउँपालिका वडा नम्बर ७ का स्थायी बासिन्दा हुन् । प्रहरी परिसर काठमाडौंका प्रवक्ता समेत रहेका एसपी बोहराका अनुसार, शाहीसहित ६ जना नक्कली परीक्षार्थी बनेर परीक्षा दिइरहेको अवस्थामा पक्राउ परेका हुन् ।
उनीहरूविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ पर्ने अन्यहरूमा २३ वर्षीय मोहन सुनवार, २२ वर्षीय मनोज शर्मा, २२ वर्षीय आकाश खड्का, २० वर्षीय उमेश शर्मा २२ वर्षीय मिन रावल रहेका छन् ।
अस्कलका सचिव शाही भने यसअघि गत माघ २४ गते राति ठमेलमा ड्युटीमा खटिएका दुई जना प्रहरीमाथि भएको कुटपिटमा पनि संलग्न थिए । सो घटनामा उनले पछि प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए ।