बझाङको साइपाल गाउँपालिकामा ४ दिनदेखि टेलिकमको नेटवर्क अवरुद्ध


बझाङ । बझाङको साइपाल गाउँपालिकामा नेपाल टेलिकमको नेटवर्क अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको छ । चार दिनदेखि निरन्तर रुपमा टेलिकमको सेवा पूर्ण रुपमा अवरुद्ध भएपछि त्यहाँका नागरिक सञ्चारविहीन बनेका छन् । केही दिन देखि बझाङमा परेको चट्याङ, हावाहुरी र असिना पानीका कारण नेटवर्क पूर्ण रूपमा बन्द भएको स्थानीयले बताएका छन् ।
मोबाइल सेवा नहुँदा विशेष गरी शिक्षा, स्वास्थ्य, प्रशासनिक सेवा तथा आपत्कालीन अवस्थामा ठूला समस्या आइपरेको स्थानीयले बताएका छन् । साइपालबासीले नेपाल टेलिकमको केन्द्रीय कार्यालय, काठमाडौँमा सेवा विस्तार र सुधारको माग गर्दै पत्र पठाएका छन् । स्थानीयबासीहरूले हस्ताक्षर संकलन गरी टेलिकमलाई पठाएको पत्रमा, अहिले उपलब्ध सञ्चार सेवा पर्याप्त नहुँदा सर्वसाधारणको दैनिक जीवनयापन कठिन भएको उल्लेख छ ।
पत्रमा अधिकांश ठाउँमा केवल २ जी नेटवर्क उपलब्ध हुँदा इन्टरनेट सेवा अत्यन्तै कमजोर भएको, कतिपय ठाउँमा त सेवा नै नपुग्ने अवस्था रहेको उल्लेख गरिएको छ । स्थानीयहरूले ४ जी नेटवर्कको विस्तार, सेवा गुणस्तरमा सुधार, र नेटवर्क क्षमताको वृद्धि प्राथमिकताका साथ गरिनुपर्ने सामूहिक माग राखेका छन् ।

