Ad Image

अदालतको आदेश पालना गर्न एनआरएनएलाई सर्वोच्चको निर्देशन

User Image Mayorsap | ४ हप्ता अगाडि
Image of storage/news/1745325914.jpg

काठमाडौँ । सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले सर्वोच्चको फैसला कार्यान्वयन गर्ने सन्दर्भमा कुनै पनि तलमाथि नगर्न भन्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई पत्राचार गरेको छ ।


सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयका निर्देशक जनकप्रसाद शर्माले सोमबार एनआरएनए सचिवालयलाई पत्राचार गर्दै तोकिएको मितिमै एकता महाधिवेशन गर्न निर्देशन दिएका हुन् ।


एनआरएनए उच्चस्तरीय समितिले २० देखि २२ वैशाख ९३ देखि ५ मे २०२५० मा काठमाडौँमा एकता महाधिवेशन गर्ने तयारी तीव्र पारिरहँदा सर्वोच्चले त्यस्तो निर्देशन दिएको हो ।


पत्रमा एनआरएनए सचिवालयले सर्वोच्चको आदेश अनुसार काम कारबाही भइरहेको बताए पनि उच्चस्तरीय समितिलाई सचिवालय हस्तान्तरण नगरेको विषयलाई गम्भीरसाथ लिएको उल्लेख छ ।


पत्रमा एनआरएनको उच्चस्तरीय समितिको १९ चैत २०८१ को पत्र बेहोरा हेर्दा एनआरएन सचिवालय हस्तान्तरण गर्न सक्दैनौँ भनी जवाफ फर्काएको भन्ने र ८ वैशाख २०८२ मा यस निर्देशनालयमा पेस गरेको उच्चस्तरीय समितिको प्रगति विवरणमा ४ मंसिरदेखि ३१ चैत २०८१ सम्म १४ पटक बैठक बसी उच्चस्तरीय समितिले सम्मानित सर्वोच्च अदालतले तोकिएको समयावधि भित्र कार्य सम्पन्न कार्य योजना साथ अगाडि बढिरहेको उल्लेख छ ।


त्यसैगरी ‘निर्धारित मितिभित्र कार्य सम्पन्न गर्न प्रतिबद्ध रहेको भनी ८ वैशाख २०८२ मा एनआरएनएको उच्चस्तरीय समितिको पत्रमा उल्लेख गरे बमोजिम नै गर्नू र सर्वोच्चको २१ चैत २०८० को आदेश अनुसार तोकिएको मितिमा नै महाधिवेशन गर्नू गराउनू’ भन्ने पत्रमा उल्लेख छ ।


यसैगरी फैसला कार्यान्वयन निर्देशनालयले तोकिएको मितिमै उच्चस्तरीय समितिबाट महाधिवेशन सम्पन्न गर्ने गराउने कार्यमा अनिवार्य रूपमा समन्वय, सहयोग गर्न तथा गराउन परराष्ट्र मन्त्रालयलाई  निर्देशन दिएको छ ।


त्यस्तै तोकिएको मितिभित्रै  महाधिवेशन सम्पन्न गर्नुपर्ने र कानुन बमोजिम समय थप्न कुनै निर्देशन दिन नमिल्ने पनि निर्देशनालयले स्पष्ट पारेको छ।